काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्राेत नीति, २०७७ सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको गत असार २९ गतेको बैठकबाट स्वीकृत भएको नीति मन्त्रालयले बिहीबार औपचारिक कार्यक्रम गरि सार्वजनिक गरेको हो।
नीति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पानीको उपयोग, संरक्षण, नियमन र नियन्त्रणका लागि एकीकृत नीतिको आवस्यकता महसुस गरेर राष्ट्रिय जलस्राेत नीति आएको बताए। `हामीसँग भएको प्राकृतिक स्रोतको अधिकतम तथा उचित प्रयोग, संवर्द्धन तथा बहुउपयोगी विकास र दिगो रुपमा उपयोग गर्नका लागि यो नीतिले दिशानिर्देश गर्नेछ। सँगसँगै भविष्यमा उत्पन्न हुनसक्ने समस्या न्यूनीकरणका लागि पनि यो नीतिले सहयोग पुर्याउनेछ,´ मन्त्री पुनले भने।
नीतिले जलस्राेतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरणलाई दीर्घकालीन सोचका रुपमा राखेको छ।