May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

केवलकार भित्र रुमल्लिएको ताप्लेजुङ

ई. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ
२०८० माघ १४

5.6K

प्रकृतिको सुन्दर अनि अनुपम स्रोतले भरिएको मुलुक नेपाल । यहि सुन्दर भूमिको मुहार हो हाम्रो जन्म भूमि ‘ताप्लेजुङ’, जो अनेकन प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ । साक्षात देवी भगवती माता पाथीभरा (मुकुम्लुङ) को वासस्थान भएको हाम्रो जिल्ला ताप्लेजुङ् जहाँ बर्षेनि लाखौं तिर्थालुले माताको दर्शन गरिरहेका हुन्छन् भने गएको ६ महिनामा झण्डै एकलाख दर्शनार्थीले पाथीभराको दर्शन गरिसकेका छन् ।

मुलुकको पुर्वी कुनामा रहेको हाम्रो जिल्ला ताप्लेजुङ् अनि त्यहाँबाट अर्को मुलुक जोड्ने सडक सन्जाल दर्बिलो र भरपर्दो नभएको कारण थप केही बर्षमा ओलाङ्चुङगोला नाका खुलाएर चीनसग आवतजावतको अर्को दर्बिलो नाका बन्दै छ । जिल्लाबासीहरू आफ्नो थाकथलोमा व्यक्तिगत तथा सामाजिक काम लिएर आउनुको अलावा बाहिरी जिल्ला तथा बाहिरी मुलुकबाट यहाँ धार्मिक पर्यटक मात्र अधिक आउने गरेको पाईन्छ भने बिश्वको तेस्रो अग्लो हिम शिखर कंचनजंघामा आउने पर्यटकको संख्या चार दशक अगाडीको तुलनामा ह्वात्तै घट्नुले ताप्लेजुङमा पाथीभरा बाहेकको पर्यटनमा देखिने गरि बाहिरका पर्यटकहरू आउने गन्तब्य स्थानिय सरकारले प्रष्ट नपारे पनि फुङफुगे झरना, तिम्बुङ पोखरी, सिन्जेमा ताल, टिपतला ताल, सोदु पोखरी, सिदिङमा, गुराँसे पोखरी, सिद्धी डाँडा, दिकि छ्योलिङ गुम्बा, फक्ताङलुङ र कंचनजंघा ट्रेलमा पदयात्रा र तल्लो हिमाली क्षेत्रमा साहसिक खेलको गन्तव्य बनाई ताप्लेजुङलाई बिकास गराउन सकिने बाटाहरू प्रसस्त देखिन्छन । राणा काल देखि विभिन्न चरण पार गर्दै, शासकीय स्वरुप परिवर्तन गर्दै, मुलुकमा प्रजातन्त्र बहाली भयेको ३४ बर्ष पुगिरहदा, पटक पटक हाम्रो सुन्दर मुलुकलाई सिङ्गापुर, युरोप, न्यूयोर्क बनाउने नेताहरूको उद्धोष नसुनिएको भने हैन । तर मुलुकको हविगत दिनानुदिन गिर्दो अवस्थामा छ । हामी आफ्नो जिल्लाको सम्भावनाको खोजी (Feasibility study of available resources for TAPLEJUNG) गरिरहेका छैनौ । हरेक बिकासलाई हचुवाको भरमा कार्यान्वयन गर्न उद्धत छौ । तर किन हचुवाको भरमा काम हुन्छ यहाँ ? के राज्य कोषबाट प्राप्त रकमले गरेको लगानीको प्रतिफल आउनु पर्दैन र ? हरेक लगानीको प्रतिफलको हिसाव हुनुु पर्दैन र ? हुदैन भने किन हुदैन ? हुन्छ भने ती कुन समयावधिका लागि हो, जानकारी हुन आवश्यक छ ।

कुनै पनि जिल्लाका समग्र विकासका सम्भावनाहरू उजागर गर्दै, ति आयोजनाहरूको बैयक्तिक प्रतिफलको आधारमा प्राथामिकिकरण गर्दै अगाडी बढ्ने हो भने मात्र हामी गन्तव्य हाँसिल गर्न सक्छौ । जिल्लालाई अगाडी बढाउन, पर्यटन, जडीबुटी, कृषि, जलस्रोत, आई. टि., शिक्षा आदी मुख्य हुन भने ति मध्येका कुन आयोजनाको आन्तरिक प्रतिफलको दर (क्ष्च्च्) अधिक हुन्छ र छिटो अनि कम लागतमा बनाउन सकिने आयोजनाहरू छनौट गरि त्येसमा लगानी गर्नु ताप्लेजुङको आजको आवश्यक्ता मात्र हैन, यो मुलुकमै बिकासलाई प्रथम प्रथामिक्ता राखिनु पर्छ भन्ने बुझाई समग्र मुलुकको आवश्यक्ता हो ।

Advertisement

पाथीभरा केवलकार होस या अन्य आयोजनाहरू, हरेक आयोजनाको आवश्यकताको निक्र्यौल गर्ने बिषय सम्बन्धित जिल्लाको हुनेछ । ताप्लेजुङको बिकास गर्न आवस्यक पर्ने आर्थिक पाटो के कसरी प्राप्त गर्न सकिन्छ ? सो को यकिन गरि हरेक आयोजनालाई क्रमानुगत प्राथमिकतामा राखी आयोजनालाई अगाडी बढाउन आजको हाम्रो आवश्यकता हो । समग्रतामा पाथीभरा केवलकारको प्राथमिकता यकिन गरि यसको बिकासका मोडालिटी तैयार पारेर ताप्लेजुङ् स्वयंले निर्माण गर्ने ? या कुनै कम्पनीलाई दिन आव्हान गर्ने ? टुंगो लगाउनु पर्नेमा बिना छलफल तथा आर्थिक, ब्यबसायिक पाटोको कुनै निष्कर्षमै नपुगी ईजाजत दिइनु आफैमा दुर्भाग्य हो । आज स्थानिय सरकार र केन्द्र सरकारबाट ईजाजत प्राप्त कम्पनी स्थानीय रुकावटको कारण छलफलमा आउनुले ताप्लेजुङ् लगानी मैत्री जिल्ला नभएको बुझिनेमा दुईमत नरहला ।

कुनै पनि आयोजनाहरूको सरुवाती अवस्थादेखि निर्माण हुने अन्तिम अवस्थासम्म पुग्दा आयोजना कम्पनीले यसको ईन्जिनियरिङ अध्यन अनुसंधान, वित्तीय ब्यबस्थापन र पुर्वाधार तैयारीमा ठूलो धनराशि खर्च गरिसकेको हुन्छ । यो अवस्थामा, आयोजना बन्न दिने र नदिने बिषयको छलफल हुनु आफैमा हाँस्यास्पद हो किनकी सुरुवाती ईजाजतमै आयोजना कम्पनीले स्थानीय निकायको स्वीकृति लिईसकेको हुन्छ । स्वीकृति प्रदान गर्ने निकायले आफ्नो निर्णयको दायित्व अनिवार्य लिईनु पर्दछ ।

पाथीभरा केवलकार सग बजारमा भए गरेको गुनासा र स्थानिय प्रभावित क्षेत्रहरू र आयोजना कम्पनी विच लिने दिने बिषयहरूमा गम्भीर भै छलफल हुन जरुरी छ । जसको लागि आयोजना कम्पनीको इआइए डकुमेन्टको अध्ययन प्र्रमुख हो । पाथीभरा मन्दिर परिसरमा धेरै अगाडीदेखि पुरातत्वले स्वीकार्न नसक्ने प्रकृतिका संरचनाहरू बनिसकेका छन्, जसले गर्दा हाम्रो देबिको मन्दिरमा थप सम्रचना बनाईनु हुन्न भनिनु आफैमा कति मनासिव हो ? आफैले बुझ्न जरुरी छ । बिकासको लागी भावनामा बहकिनु भन्दा जीत/जीतको अवस्थामा बिकासका परियोजनाहरू संचालन गरिनु पर्दछ । यो नै कोही ब्यक्ति, समुह भन्दा पनि ताप्लेजुङको जीत मानिने र हुने छ ।

यो सामान्य अनकन्टार ठाउँमा सानातिना जलविद्युत आयोजना वा कोइला खानि वा गिट्टी खानि जस्तो आयोजना नरही एउटा् पद्धतिमा सदियौ देखि चलिरहेको सबैको आस्था र भरोसाका देविको पाउ स्पर्श गरि दर्शन गर्न जाने लाखौ तिर्थालुको रुट परिवर्तन गरिदा मौजुदा ब्यबस्थामा के असर पर्न जान्छ ? सो को ब्यबस्थापन (supplementary plan) कसरी गर्न खोजिएको छ ? सो को सुक्ष्म अध्यन हुन जरुरी छ ।

पाथीभरामा केवलकार बनाउन छेकिरहेका मुख्य बिषय केके हुन सक्छन ?
१. पाथीभरा केवलकार नाम बिबाद भो ।
क) नाम बिबादित हो भने के राख्न उपयुक्त हुन्छ ? (मुकुम्लुङ) हो या पाथीभरा/मुकुम्लुङ या मुकुम्लुङ/पाथीभरा, छलफल हुनु पर्यो ।

२. तल्लो फेदिदेखि पाथीभरा उपल्लो स्टेशन सम्म लादा कान्छी थानको दर्शन नहुने भयेकोले सो गर्न नहुने ।
क) कान्छी थानमा झरेर दर्शन गरेर जाने किसिमको स्टेसन डिजाईन गराउने
ख) सिधै गयेर पुजा गरे हुन्छ ?

३. माथिल्लो फेदिका होटल ब्यबसायी तथा अन्य उध्यमीको बिषय
क) सबैलाई तल्लो फेदिमा उचित ब्यबस्थापन गराउने जिम्मा केवलकार कम्पनीले लिनु पर्ने या उचित क्षतिपुर्ती भर्नु पर्ने
४. केवलकार निर्माण हुँदाको वातावरण मैत्री निर्माण पद्धति ः केवलकारको मोबिलिटी र यसबाट हुनसक्ने ध्वनि प्रदुषणले रेडपाण्डा लगायत अन्य उच्चपहाडी जन्तु र पंक्षिहरूलाई पार्न सक्ने क्षतिको उचित ब्यबस्थापन सुक्ष्म अध्यन गरिनु पर्ने ।

५. इआइए र सिएसपी सार्वजनिक हुनुपर्ने । पर्यावरण संरक्षणका सबै पाटाहरू नियाल्नु पर्ने समुदाय सहयोग योजना (CSP)(निर्माण काल र निर्माण भै सकेपछि ) को पाटो पूर्ण पारदर्शी तवरले सार्वजनिक गरिनु पर्ने

६. उक्त क्षेत्रमा मजदुरी गरिरहेका सयौं मजदुरको रोजगारीको ग्यारेन्टी वा के कस्ता योजना छन ? सार्वजनिक हुनु पर्ने ।

७. जग्गा खरिदमा भयेको अपारदर्शीताको कारण यो आयोजना प्रती स्थानियको बिस्वास धेरै न्यून भएको छ । भविष्यमा आयोजना निर्माण गरिरहदा खर्च पारदर्शी हुन्छन् भन्ने ग्यारेन्टी वा आयोजना कम्पनीले तय गरेको लागतमा स्थानियहरूले बिस्वास गर्ने आधार कस्तो हुने ? यकिन हुन जरुरी छ । यद्यपि यो पारदर्शिता नहुने हो भने ? स्थानीयले कसरी लगानी गर्न सक्छन ? स्थानीयले लगानी गर्न नपाउने हो भने, यो कम्पनीलाइ ताप्लेजुङ् बासिले पाथीभरा सुम्पिनुको औचित्य के हुन्छ ? यसको बिस्तृत उत्तर खोजिनु पर्ने ।
क) यदि जग्गामा बिबादित रकम र आयोजनाको लागतको पारदर्शितामा आयोजनाले स्थानीयलाई आस्वस्त पार्यो भने ? आयोजनाको कुल लागत कति हुने ? ऋण :धन अनुपात कति-कति हुने ? स्थानीयलाई कति प्रतिशत शेयर दिने ? त्यो शेयर लगानी प्रोमोटर शेयर वा आइपीओ मार्फत हुने ? लगानीको योजना सहित ताप्लेजुङ बासीलाई जानकारी हुनु पर्ने ।

८. पाथीभरा क्षेत्रमा निर्माण विधि के कस्तो हुने ? काफ्ले पाटी बाट माथिका प्रायः सबै निर्माण सामाग्रीको ढुवानी प्रारम्भिक कालमा जनसहभागितामा हुने भयेकोले ठूलो सङ्ख्यमा प्रयोग हुने कामदारहरूको आपूर्ति स्थानियहरू बाट हुने खाले योजना आउनु पर्ने ।

निर्माण कालमा स्थानीयहरूले के कसरी रोजगारी पाउँछन् ? सो को लिखित योजना आउनु पर्ने । निर्माण सम्पन्न भै सके पस्चातका रोजगारीका अवसरको विषयमा पारदर्शिता हुनु पर्ने । स्थानीय प्रभावित क्षेत्रका जनताको रोजगारीमा प्रथम अधिकार रहेको र सो को लागि सीप बिकास तालिमका अवधारणा ल्याइ सीप सिकाएर रोजगारीको सबै अवसर ताप्लेजुङलाई हुनु पर्ने ।

९. सुरुकै अवस्थादेखि समस्त स्थानीयले रोजेको पात्र स्थानियको तर्फबाट आयोजनाको गतिविधि र पारदर्शिता हेर्न एक जनालाई संचालकको रुपमा आयोजनाले नियुक्त/मनोनयन गर्नु पर्ने ।

१०. केवलकार कम्पनी र सो मा लगानी गर्ने लगानी कर्ता वा सम्बद्ध परिवारले पाथीभरा क्षेत्रमा मात्र हैन ताप्लेजुङ जिल्लामा कुनै पनि प्रकारको होटेल/लज खोल्न नपाउने । पाथीभरामा केवलकार खुलेपछी ब्यापार वृद्धि हुने अपेक्षा आम ताप्लेजुङ वासीको रहेकोले ब्यापारमा सबैको समान अवसर हुनु पर्ने ।

११. जलस्रोतको धनि मद्येको एक हाम्रो जिल्लामा के कति जलबिद्युत आयोजनाहरू निर्माणधिन छन् ? अन्य बन्नु पर्ने आयोजनाहरूको प्रगति बिबरण के कस्तो छ ? ति बन्न बाँकी आयोजनाहरू कहिले सम्ममा निर्माणमा आई कहिले सम्पन्न हुने लक्ष्य छ ? के कस्ता समस्या ति आयोजनाहरूले झेलिरहेका छन् ? स्थानिय संघ, सस्था वा ब्यक्तिहरूले अकारणमा दुख दिने कार्य भै रहेको छ कि ? सबै बिषयलाई सुक्ष्म अवलोकन हुनु पर्ने जरुरि छ । हालसम्मको लगत अनुसार २००० मेगावाट बिद्युत उत्पादन हुँदा पहिलो १५ बर्ष सम्म बर्षेनि १०० करोड र दोस्रो १५ बर्षमा बार्षिक ५०० करोड रोयल्टी ताप्लेजुङले पाउने र हाल जम्मा ७० करोडको आसपासमा मात्र बिकास बजेट जिल्लाले पाउने भएकोले बिद्युत उत्पादनलाई हाम्रो जिल्लाको प्राथामिक्तामा राखिनु जरुरी रहेको छ ।

१२. समग्रतामा हेरिदा आन्तरिक द्रुत पक्की सडक, शिक्षा, स्वास्थ, कृषि, साहसिक पर्यटन, खेलकुद र बिभिन्न आयामहरूलाई सुक्ष्म केलाएर लगानीको प्रतिफल समेत हिसाव गरि अगाडी बढ्न आजको आवश्यक्ता हो ।

१३. माथी उल्लेख भए अनुसार, हाम्रो जिल्ला परनिर्भर नभै स्वनिर्भर मात्र हैन एक बिकसित अनि समृद्ध जिल्लाको रुपमा देख्न तपाई हामी सबैको एकै चाहाना भएकोले जिल्लाको राजस्व सङ्कलन मात्र हैन यहाँका आम जिल्लावासीहरूको पेशा ब्यबसायमा उल्लेख्य वृद्धि हुनु अबको अपरिहार्यता हो ।

ताप्लेजुङको आम्दानीको स्रोत समेटिएन भने हामी कसरी अगाडी बढ्न सक्छौ ? बिकास आयो तर जिल्ला र जिल्ला बासीलाई फायदा भयेन वा केही निस्चित ब्यक्ती र समूह मात्र लाई मात्र फायदा पुग्यो भने यसको उपादेयता के नै रहयो र ? भनिन्छ, माछा पालन अत्यन्तै फलदायी हुन्छ तर बुझ्नु पर्ने बिषय के छ ? भने प्राय जसो ठूलो माछाले साना माछा खाने भएकोले एउटै पोखरीमा अक्सर ठुला र साना माछालाई नराख्ने हाम्रो आम चलन नै रहेको छ ।

अतः पद्धतिमा चलिरहेका आम व्यवसायलाई कति पनि समस्यामा नपारि, उपरोक्त विषयमा जिल्लाको बिकास र यसले पार्ने दुरगामी सुप्रभाव र कुप्रभावको सुक्ष्म विश्लेषण गरि पाथीभरा केवलकार र अन्य परियोजनाहरू लाई अगाडी बढ्न आवश्यक भैसकेको छ ।