May 11, 2025, Sunday
२०८२ बैशाख २९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान

1.3K

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल आज साँझ न्यूयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र, सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।

उनलाई बिदाइ गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

Advertisement

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।