काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको स्वागतमा इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । उनको स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए ।
अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् भने बेलुका मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने र अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् ।