March 4, 2024, Monday
२०८० फाल्गुन २१
1:37:26 pm

‘थाङग्रा’को शक्ति बुझ्न अझैं ५ वर्ष कुर्नुपर्छ: प्रगति राई

सीता तुम्खेवा
२०८० बैशाख १२

4.2K

नेपाली साहित्य क्षेत्रकी एक सशक्त हस्ताक्षर हुन् प्रगति राई । खोटाङ जिल्लाको साकेला गाउँपालिकामा जन्मिएकी प्रगतिको साहित्यिक प्रगति चर्चायोग्य छ । उनीमा बाल्यकालदेखि नै साहित्यिक चेत थियो । ‘मलाई याद भएदेखि गीत र कविता लेख्न सुरु गरेको स्मरण छ ।’, उनी भन्छिन् । उनी साहित्यमा देश र समाज लेख्छिन् । संस्कार संस्कृति र प्रेम लेख्छिन् । विद्रोह ओकल्छिन् ।

‘उसको अनुहार ठ्याक्कै मिलेन
रगत मिलेन
विचार मिलेन
हिँड्ने बाटो मिलेन
मात्रै मिल्यो, प्रेम गर्ने बानी
जो शिलापत्र जत्तिकै अमिट छ
जो एम्बुस जत्तिकै खतरनाक पनि, मेरो लागि’

माथि उल्लेखित कविता उनको पहिलो कवितासङ्ग्रह ‘वादी विज्ञप्ति’ मा समाविष्ट कविता ‘एम्बुसमा माया’को एक अंश हो । जसमा उनले प्रेम र विद्रोह लेखेकी छिन् । प्रगतिको यस कविता सङ्ग्रह वि.सं. २०६२ सालमा प्रकाशित भएको थियो । कमैमात्र कविताहरू सदावहार हुन्छन् भन्ने पाठकहरूको टिप्पणी हुन्छ । जसमध्ये उनका कविताहरू पनि पर्छन् ।

Advertisement

कवितासङ्ग्रह ल्याएको करिब ७ वर्षपछि २०६९ सालमा उनले दोस्रो कृतिको रूपमा पहिलो उपन्यास ‘लेखककी स्वास्नी’ साहित्य बजारमा ल्याइन् । यस उपन्यासले सर्वाधिक चर्चा पायो । लेखककी स्वास्नी र प्रगति राई पर्यायवाची बन्न पुगे । आज पनि प्रगति राई भन्नेबित्तिकै सर्वप्रथम ‘लेखककी स्वास्नी’ स्मरण गर्छन् मान्छेहरू । २०७२ को भुकम्पले क्षतविक्षत पारेको देशभित्रको कथालाई लिएर उनले २०७४ सालमा पुन तेस्रो कृतिको रूपमा दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ पाठकमाझ ल्याइन् भने भर्खरै लेखककी स्वास्नीकै निरन्तरताको रूपमा ‘थाङ्ग्रा’ उपन्यास प्रकाशनमा ल्याएकी छन् । यस उपन्यासमा लेखककी स्वास्नीको कृतिकै बुढ्यौलीपनको परिकल्पना गरेको उनले उपन्यास आउन अघि नै एक अन्तवार्तामा बताएकी थिइन् । विदेशमा रहेकाहरूको वास्तविकतामा आधारित ‘बिर्सिएको मृत्यु’को पनि अर्को संस्करणको तयारीमा रहेको उनी बताउछिन् ।

कस्तो उपन्यास हो ‘थाङ्ग्रा’ ?
तीन सय पृष्ठको थाङ्ग्रा उपन्यास चार पात्रको संयुक्त कथा हो । यस उपन्यासमा पाठकलाई सबै पात्र मन नपरे मन परेको पात्रलाई मात्र पढ्न मिल्ने सुविधा दिइएको सर्जक राई बताउछिन् । ‘पाठकले मन परेको पात्रलाई मात्र पढ्न सक्नुहुन्छ । सिङ्गै किताब पढिसक्नुपर्ने वाध्यता छैन ।’, उनी भन्छिन् । राईका अनुसार यस उपन्यासमा लेखककी स्वास्नीकै पात्रहरू छन् । पात्रहरूमा परिपक्वता छ । उनीहरूले आफूलाई परिस्कृत गरेका छन् ।

पाठक प्रतिक्रिया कस्तो पाउनुभयो ? यो प्रश्नमा उनी जवाफ दिन्छिन्, ‘उपन्यास तुरन्तै पढेर भ्याइने वस्तु हैन । यसलाई पढ्न लामो समय लाग्छ । तुरन्तै पाठक प्रतिक्रिया खोज्नु मूर्खता हुनेछ ।’ यद्यपी विभिन्न लेखक, राजनीतिज्ञ तथा पाठकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । यस उपन्यासमा समाजको वास्तविक आवाज लेखिएकोदखि पुरातन चिन्तन अब बाधिंदैन भन्ने विम्ब बोकेको प्रतिक्रियाहरू आएका छन् ।

‘उपन्यास पढ्दा राम्रो सिनेमा हेरे जस्तो लाग्छ ।’, पुस्तक विमोचनकै क्रममा प्राज्ञ मुनाराज शेर्माले भनेका थिए । ‘सुशान्तको बुवाले नाति होस् भनेर सधैं देवतालाई बोका चढाउँछ । अनेक गर्दा नाति नभएपछि अन्तिम बोका खसी पारेर सुशान्तलाई काटेर खान पठाउँछ । डोरी खाँबामा त्यसै झुन्डिएको हुन्छ । अब देवताको आश मारेको डोरीसमेत स्वतन्त्र छ ।’ सामाजिक संजालमा पुनः उपन्यासको यस अंश राख्दै उनले लेखेका छन्, ‘छोरा हुनै पर्ने चिन्तन डोरी जस्तै तुर्लुङ्ग झुन्डिएको विम्ब निकै मार्मिक र तनावरहित फुक्का छ । पुरातन चिन्तन अब बाधिंदैन भन्नु बबाल बिम्व हो ।’

‘थाङ्ग्रा’ उपन्यासले यसअघिका प्रकाशन भएका कवितासङ्ग्रह ‘वादी विज्ञप्ति’ र ‘लेकखकी स्वास्नी’ उपन्यासले जसरी चर्चा नपाएको हो कि भन्ने पाठकलाई लाग्न सक्छ । यस प्रश्नमा लेखको जवाफ छ– ‘ चर्चा धेरथोर भन्न मिल्दैन । यो त २२ वर्षको मानिस र २२ महिनाको बच्चाको कामको तुलना गरेजस्तो हुन्छ । उपन्यासलाई बुझ्न धैर्यताको खाँचो हुन्छ । थाङग्राको शक्ति बुझ्न अझै ५ वर्ष कुर्नुपर्छ ।’ अर्को उपन्यास ‘बिर्सिएको मृत्यु’ भने अर्कै विषयमाथि लेखिएको हुँदा पाठकले त्यत्ति चर्चा हुन नपाएको उनी बताउछिन् । उनी भन्छिन्, ‘अर्कै विषय परेको हुनाले लेखककी स्वास्नी जस्तो चर्चा हुन सकेन । मलाई पाठकले महिला विषयमा मात्र पढ्न रुचाउने रहेछन्, भन्ने पनि ज्ञान दिएको छ ।’

पछिल्लो समय नेपालमा हप्तैपिच्छे जस्तो पुस्तक विमोचन भइरहेका हुन्छन् । पुस्तकप्रति गरिएका समिक्षा, पाठक प्रतिक्रिया लगायतलाई आधार मानेर पुस्तक किन्ने गरेको कतिपय पाठकहरू बताउछन् । यसमा लेखक राईको विचार अलिक फरक छ । उनलाई लाग्छ– ‘चर्चाको मोहमा लेखनमा विचारलाई निरन्तरता दिने र चर्चाको मोहमा आफूलाई दौडाउने, यी भिन्न कुरा हुन् । कुनै जमानामा प्रकाश कोविदका उपन्यास नपढ्ने मान्छे थिएनन् । डोर बहादुर विष्टका किताब पढ्ने को–को थिए होलान् र ?’ कस्तो किताबले चर्चा पाउला भन्दा पनि चर्चा पाएका किताब छ महिना नपुग्दै सेलाएर जाने/पाठकले कुनै उपलब्धि नपाउने रोग चाहिँ नराम्रो रहेको उनको भनाइ छ ।

कविता र आख्यानमा कलम चलाउदै आएकी प्रगति राईले विशेष प्राथमिकता आख्यानलाई दिन्छिन् । उनी उपन्यासमा विचार प्रवाह गर्न सहज हुने बताउछिन् । सम्भवतः उनको पाँचौं कृति पनि आख्यानकै हुन सक्छ । अर्को कृतिको लागि अब ५ वर्ष प्रतिक्षा गर्नुपर्ने उनले नेपाल मामिलालाई जानकारी दिइन् ।