March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

राष्ट्रपतिमा पौडेलसँग नेम्वाङ भिड्ने

२०७९ फाल्गुन १३

1.4K

काठमाडौं । फागुन २५ गते हुने नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए ।

त्यसपछि बैठकले पौडेलको नाममा निर्णय गरेको शर्माले बताए । शर्माले यसअघिदेखि नै पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिका लागि प्रयास नगर्न आग्रह गर्दै आएका थिए ।

Advertisement

राष्ट्रपतिका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि हिजो बेलुकी आठ दलले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा सघाउने निर्णय गराएको हो ।

यता, नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई बनाउने निर्णय लिएसँगै राष्ट्रपतिका लागि दुई जना उम्मेदवार तय भएका हुन् ।