काठमाडौं – कोरोना संक्रमित थपिने क्रम घट्दै गए पनि मृत्युदर बढेको छ। संक्रमितको घण्टैपिच्छे जसो मृत्यु हुन थालेको छ। पछिल्लो चौबीस घण्टा (बुधबार अपराह्नसम्म)मा २८ जनाको ज्यान गएको छ। यो संख्या मंगलबार २४, सोमबार १६, आइतबार पनि १६ नै, शनिबार ७ थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे केही सातायता कोरोना पोजिटिभको दर घट्दो र मृत्युदर बढ्दो क्रममा रहेको स्विकार्छन्। मृत्युदर ०.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जम्मा मृत्यु १० लाख (पोजिटिभमा) ४६.६ प्रतिशत छ। मन्त्रालयका अनुसार संक्रमणबाट हालसम्म १ हजार ३ सय ८९ जनाको ज्यान गएको छ।
‘मृत्युदर उच्च हुनु र यात्रा विवरण (ट्राभल हिस्ट्री) नभएका व्यक्ति पनि संक्रमित पाइनुलाई समुदायमा कोरोना संक्रमण फैलिएको सूचकका रूपमा लिन सकिन्छ’, डा. पाण्डेले भने।
भाइरोलोजिस्ट डा. पाण्डेका अनुसार पहिला संक्रमण दर उच्च भएका कारण मृत्युदर पनि बढी देखिएको हो। नेपाली सेनाको तथ्यांकमा कोरोना नेगेटिभ भएर फर्केका व्यक्तिको ज्यान गएको संख्या थपिएकाले धेरै देखिएको उनको जिकिर छ। कोरोनाको लक्षणसहितका संक्रमितको ज्यान धेरै गएको पाइएको छ।
‘गम्भीर खालका बिरामी बढे। बेलैमा जँचाएनन्। हामीले पनि उपचारमा पहुँच पुर्याउन सकेनौं कि ? यो चिन्ताको विषय हो’, उनले भने।
होम (घर) र संस्थागत आइसोलेसनमा १६ हजार ६ सय ३९ जना छन्। घरमै रहेका लक्षणसहितका बिरामीको निगरानी गर्नुपर्ने खाँचो देखिएको चिकित्सकहरू बताउँछन्। अहिले सघन उपचार कक्षमा ३ सय ४५ र भेन्टिलेटरमा ६३ जना उपचाररत छन्।
छातीजन्य समस्या, दम, सिओपीडीका साथै मुटु, मधुमेह, मिर्गौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित व्यक्ति कोरोना संक्रमति भई मृत्यु भएको पाइएको चिकित्सक बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले नयाँभन्दा पनि एक सातापछि ज्यान जाने क्रम बढेको बताए। ‘१०–१२्र दिनअघि संक्रमण भएको र गम्भीर खालका बिरामीको ज्यान गइरहेको छ’, डा. राजभण्डारीले भने, ‘ठुल्ठूला निजी अस्पतालबाट रेफर भएका बिरामीको मृत्यु भएको छ।’
७ सय २५ जनाको उपचार गरी डिस्चार्ज गर्दा शुक्रराज ट्रपिकलमा २५ जनाको ज्यान गएको छ। मुटु र मधुमेहको समस्या भएका संक्रमितको मृत्युदर बढी देखिएको डा. पाण्डेको भनाइ छ।
‘बालबालिकामा मृत्युदर नगण्य छ। केही महिनाअघि ६० वर्ष नाघेका व्यक्तिमा मृत्युदर उच्च थियो। अहिले ५० वर्ष नाघेका व्यक्तिमा पनि मृत्युदर बढेको छ। खासगरी दीर्घरोग भएका व्यक्तिको मृत्यु बढी छ। निको भई घर फर्केकाको पनि मृत्यु भएको छ’, उनले भने, ‘कोरानाले कुन–कुन अंग तथा तन्तुमा कस्तो असर पारिरहेको छ भन्ने अझै अध्ययनको विषय छ।’
हालसम्म २ लाख ७ हजार ९ सय ९८ जना निको भएका छन्। निको हुने दर ९२ प्रतिशत छ। कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।
बुधबार १९ सय ४८ जना संक्रमित थपिएका छन्। संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन्। काठमाडौं उपत्यकामा ४ सय ८५ पुरुष र ३ सय ५० महिला गरेर ८ सय ३५ जना संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६ सय ६०, भक्तपुरमा ५ सय ८० र ललितपुरमा १ हजार ४ सय ९९ सक्रिय संक्रमित छन्। पीसीआर परीक्षणमध्ये संक्रमणदर १३.३ प्रतिशत छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण दर घटाउन समूह परिचालन गरिने जनाएको छ। समुदायको सहभागितामा रोग रोकथाम तथा नियन्त्रण गर्न समूह परिचालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको छ। हरेक टोलमा कम्तीमा एउटा समूह गठन गरिने र एक समूहले बढीमा ५० घरको निगरानी गर्नुपर्नेछ। टोल विकास एवं सुधार समितिका साथै क्लब, उपभोक्ता समितिलाई पनि परिचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकलका निर्देशक डा. राजभण्डारीले नयाँ संक्रमण दर बढ्न नदिने र होम आइसोलेसनमा रहेका संक्रमितलाई विशेष निगरानी गर्नुपर्ने बताए। ‘गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार व्यवस्थाका लागि अक्सिजन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्नुपर्ने खाँचो छ’, उनले भने।annapurnapost