April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तेह्रथुममा खुल्ला पाःलाम प्रतियोगिता कार्यक्रम सम्पन्न

2.4K

मेयङ्लुङ । तेह्रथुम जिल्लाको मेयङ्लुङ बजारमा खुल्ला लिम्बू भाषाको पाःलाम प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त प्रतियोगिता कृष्ण जन्माष्ठमी लाखे जात्राको अवसरमा आयोजना गरिएको हो ।

‘संस्कार सस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पाःलामलाई संरक्षण गरौं’ भन्ने नारा सहित मेयङ्लुङ नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त पाःलाम प्रतियोगितामा ७ समूहले भाग लिएका थिए । जसमध्ये लाङ्देङमा समुह धरान प्रथम भएका थिए भने फुङसेमी सबनाम र पाँचथरको रानिगाउँ समूह दोस्रो भएका छन् । यसैगरी मेयङ्लुङ नगरपालिकाका स्थानीय समूह तेस्रो र चन्द्रकला लिवाङ समूह सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । उनीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।

मेयङ्लुङ स्पोर्टिङ युवा क्लबको आयोजनामा भएको उक्त पाःलाम प्रतियोगिता बारे आफ्नो भनाई राख्दै नगर प्रमुख सन्जयकुमार तुम्बाहम्फेले तेह्रथुम जिल्ला ढाकाको पहिचान भए जस्तै भाषा कला संस्कृतिको सम्बर्द्धन हुनु जरुरी भएको बताए ।

Advertisement

कार्यक्रममा मेयङ्लुङ नगरपालिकाका नगर प्रमुख सन्जय कुमार तुम्बाहाम्फेको प्रमुख आथित्यतामा रहेको थियो भने उपप्रमुख जमुना सुवेदी, मेयङ्लुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराई, लेखा अधिकृत गोपाल कृष्ण लिम्बू, समाजसेवी प्रेम तुम्बाहाम्फे, किरात याक्थुङ चुम्लुङ्का प्रदेश सदस्य दिलु सुब्बा र मेयङ्लुङ स्पोर्टिङ क्लबका सदस्य तथा मेन्छ्यायेम एफएमका संचारकर्मी राजकुमार तेयुङ तरेवा लगायतको उपस्थिति रहेको थियो ।