काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च “साहित्यिक संस्था समन्वय समिति” द्वारा आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरिएको छ ।
समितिका अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई कद बराबरको अभिनन्दनपत्र समर्पण गरिनुका साथै दोसल्ला, दूबो, फूल र रुद्राक्षको माला, टोपी, टीका, सगुन र फूल वर्षासहित अभिनन्दन गरिएको थियो ।
अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै श्रेष्ठले साहित्य सिर्जना, प्रजातान्त्रिक आन्दोलन र देशको विषम परिस्थितिको बेलामा पुर्याएको योगदानको चर्चा गरे।
यस्तै, अभिनन्दित श्रेष्ठकी श्रीमती “गुन्जन” नारी साहित्य संस्थाका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
समारोहमा समितिका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । उनले २०१० को पूर्वार्द्धदेखि कविता सिर्जनामा संलग्न भएर सात दशक लामो यात्रामा कवि द्वारिका श्रेष्ठको आफ्नै विशिष्ट पहिचान बनाउनुका साथै महत्त्वपूर्ण योगदान गरेको बताए।

सो अवसरमा अभिनन्दित वरिष्ठ कवि द्वारिका श्रेष्ठले आफ्नो मन्तव्यसहित कविता वाचन गरेका थिए । सो अवसरमा श्रेष्ठले साहित्यकारहरूलाई स्थान दिएर अघि बढाउने साहित्यिक पत्रकारितालाई संरक्षण गर्ने काम अझै हुन नसकेकोमा दुख व्यक्त गरे । उनले साहित्यको विकास र विस्तारमा राजनीतिक नेता, नेतृत्व र दलहरू उदासीन रहेको धारणा पनि राखेका थिए।
समारोहमा धन्यवाद ज्ञापन तथा सभा विसर्जन गर्दै समितिका सदस्य एवं नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिलाले आफ्नै विशिष्ट शिल्प लिएर देखा परेका कवि द्वारिका श्रेष्ठको नेपाली कविताको प्रयोगवादी धारका क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको उल्लेख गरे।
समारोहमा कवि गीता कार्कीले श्रेष्ठको एउटा कविता वाचन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले गरेका थिए।
कार्यक्रममा एकाउन्न संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार, कलाकारसहितको बाक्लो उपस्थिति रहेको थियो ।