शैक्षिकसत्र २०८० सालको माध्यमिक शिक्षा परिषद् (एसईई) सम्पन्न भएको छ । देशभरबाट ५ लाख, ४ हजार, ४ सय १४ जना विद्यार्थीहरू उक्त एसईई परीक्षामा सामेल भएका थिए । केही वर्ष अघिसम्म यसलाई स्कुल लिभिङ सर्टिफीकेट (एस.एल.सी.) परीक्षा भनिन्थ्यो । यसलाई प्रचलको भाषामा ‘आईरन गेट’ वा ‘फलामे ढोका’को रुपमा हेरिन्थ्यो । यसो हुनुमा एसएलसीको कठिन परीक्षा र यसपछि प्राप्त अवसरका ढोका, सम्भावनालाई बुझिन्थ्यो ।
अहिले एसईई मानकमा केही फरकपन देखिन्छ । अभिभावकको लागि छोराछोरीले, शिक्षक र विद्यालयको लागि विद्यार्थीले जसैगरी पनि उच्च मार्क्स लिएर उत्तीर्ण होस भन्ने ज्यादा चाहना राखेको देखिन्छ । यस्तो प्रतिस्पर्धा सरकारी विद्यालयमा भन्दा ज्यादा बोर्डिङ स्कुलहरुमा देखिन्छ । यसले एकातिर विद्यार्थीहरुको फरक क्षमताको पहिचानमा समस्या ल्याएको देखिन्छ भने उनीहरूलाई ‘हाई मार्क्स’ वाला बढ्ता मनोबैज्ञानिक तनाबको सिकार बनाइन्छ । यसै सन्दर्भमा यस वर्षको एसईई परीक्षामा संलग्न एक छात्रासँग लिइएको एसईई अनुभवलाई समेटेर नेपाल मामिलाको लागि सुमन लिङ्देनले गरेको कुराकानी जस्ताको त्यस्तैः
‘एसईई’ अर्थात् ‘फलामे ढोका’ नाम दिइएको परीक्षा भर्खर सकिएको छ ? परीक्षाको अनुभव कस्तो रह्यो?
– अब हैन, परीक्षा हुनुपहिला त कस्तोकस्तो भन्ने लाग्थ्यो । डर थियो । तर त्यति साह्रो डराउनु पर्ने पनि हैन रहेछ । राम्रो तयारी पुगेको छ भने किन डराउने ? हाम्रो तयारी ठिकै थियो त्यै भएर खासै डर पनि भएन । समग्रमा एसईई परीक्षा राम्रो भयो भनुम् न !
एसईई परीक्षालाई ‘फलामे ढोका’ भनिन्छ । साच्चै ‘फलामे ढोका’ नै रहेछ त ?
– अँ, हाम्रो बाबाले नि भन्नुहुन्थ्यो । वहाँहरुको पालामा धेरै गाह्रो थियो रे । परीक्षामा कडाई गरिने, अझ कक्षा ९ र १० को एकमुष्ट करिकुलम पढनुपर्थ्यो भन्नुहुन्थ्यो । त्यो सुन्दा त डर लाग्थ्यो नि ! तर अहिले त्यस्तो छैन रहेछ । हुन त है, परीक्षा कस्तो हुन्छ भन्ने कुरा आफ्नो तयारीमा भर पर्ने हो । तयारी ठिकै भएकोले ‘आइरन गेट’ नै चै भएन । आइरन गेट खोल्ने चाबी हामीसँग थियो नि त … हा हा ।
परीक्षाको तयारी कसरी गर्नुभयो ? समयको व्यवस्थापन कसरी गर्नुभयो ?
– परीक्षा सकिएपछि चैं दाम्मी तरिकाले गरिएछ भन्ने लाग्यो । विद्यालयमा साप्ताहिक रुपमा परीक्षा हुन्थ्यो, त्यसमा मिड टर्म परीक्षाहरु, समयसमयमा हुनेगरेका विषयगत टेस्ट परीक्षा, त्योबेला त दिक्क लाग्थ्यो । ऐले सम्झिदा ए त्यो ठिक थिएछ भन्ने लाग्छ । अब हैन, हामी भन्दा ज्यादा तनाब चै गुरुहरुलाई हुने के, प्रश्नपत्र बनाउनु, कापी चेक गर्नु… हैट !
प्रश्न त के पो थियो ? ए समय व्यवस्थापन ? सबै विषयलाई उत्तिकै समय दिएर विषयगत रुपमा पढ्दा राम्रो हुने रहेछ । अंकगणितलाई प्राक्टिस गर्नुपर्यो । भाषाको विषयमा सानासाना कुरामा ध्यान दिनुपर्ने रहेछ । अँ, बाफ्रे ! सामाजिक त ‘नपत्याको खोलाले बगाउँछ’ भनेजस्तै हुने के ! तिथिमिति, लेखनमा मौलिकता, सामाजिक विषयलाई चै बेलैदेखि थप मेहनत गर्नु भनेर भन्छु । पुस्तकका ज्ञानले मात्र पूर्ण नहुने रहेछ ।
परीक्षा हलको वातावरण कस्तो थियो त ?
– हुन त जंगलमा पनि फूल फूल्छन् । गमलामा पनि फूल फुलाइन्छ । पिपल चट्टान फोरेरै उम्रन्छ । तयारी राम्रो थियो भने वातावरणले असर नगर्ला कि ? तर बेलाबखत परीक्षाको नियम विपरीत गतिविधि नभएका भने हैनन् । कतिसम्म भने आफ्नो विद्यार्थीको क्षमताभन्दा वढी नै आस गरेर यो गतिविधिमा स्वयं शिक्षक, अभिभावक लागेको पनि सुनियो । त्यो हुनु त राम्रो हैन नि ! बरु कम मार्क्स आओस्, मलाई आफूले लेखेकोमा गर्व गर्छु । परीक्षाको वातावरणलाई के भन्नु ? आफ्नो राम्रो तयारी छ भने अरु कुराले प्रभाव नपार्ला ।
पाठ्यपुस्तकको ज्ञान र व्यावहारिक ज्ञानमा के फरक होला?
– अँ यो चै निक्कै सोच्नुपर्ने विषय होला है ! कस्तो भने, मेरो मावला त गाउँमा हो । म अहिले सहरमा बस्छु । कैलेकाहीँ गाउँ जाँदा समस्या हुन्छ । सामान्य कुराहरु नजान्दा त लाजै लाग्ने के ! गाउँघरमा बोलिने बोलचालका भाषाहरु, जस्तो कि पँधेरो, घुर्यान, मदानी, पर्म, पैँचो, गोहो, आलमारी जस्ता दैनिक रुपमा प्रयोग हुने शब्दहरु हामीलाई बुझ्न गार्हो पर्ने रहेछ । फेरि हामीले पढेअनुसार त शिक्षाको परिभाषामा पढ्न लेख्न सक्ने, मौलिक अधिकार बुझ्ने र पालना गर्ने, कर्तव्य निभाउने जस्ता कुराहरुले शिक्षित मानिसलाई बुझाउँछ । तर, बुढापाकाले भने झैं पढेको र परेकोमा फरक हुनेरहेछ । परेको अनुसार चै शिक्षा हुनुपर्ने कि ? कोनि है ! म त सानै छु । मलाई त्यो थ्री इडियट्सको क्यारेक्टर छ नि, साइलेन्सर भन्दा नि रेन्चो मनपर्छ । अझ रेन्चोको सर्टिफिकेट भन्दा नि उसले लिएको ज्ञान मनपर्छ । अब त्यै होला नि व्यवहारिक ज्ञान भनेको त ! कि के पो ?
एसईई सकियो, नतिजा आउन समय लाग्ला । यो वीचको समयलाई के गरेर सदुपयोग गर्ने विचार छ नि ?
– पढाइका कारण छुटेका कुराहरु गर्छु होला हौ ! चित्रकलामा मेरो रुचि छ, पेन्टिङ गर्छु । खाना बनाउन सिक्छु । बाबाले मान्नु भो भने कतै घुम्न जान्छु । गाउँ डुल्न मन लागेको छ । पुस्तक वा राम्रो राम्रो सिनेमा हेर्छु । अँ साँच्चै, अस्ति साइन्सको प्रोजेक्टले गर्दा हजुरले भन्नुभाको मुभि हेर्न छुटेको थियो । के पो थियो नाम ? (अन्कन्याउँदै) नुमाफूङ कि के पो हो ? त्यो हेर्छु ।
अन्त्यमा केही भन्नु छ ?
– के पो भनु ? अँ, आउने पुस्तालाई चैं राम्रो पढ्नु नै भन्छु । चोरेको मार्क्स केहीदिनको सन्तुष्टि हो, तर आफैले मेहनत गरेर ल्याएको मार्क्सले आनन्द दिन्छ,…बरु कम नै सही । अभिभावक र शिक्षकहरूले राम्रो नम्बर ल्यावोस् भनेर आस गरिरहेका हुन्छन् । विद्यार्थीले पनि मेहनत गर्नुपर्छ, तर मार्क्सकै कारण विद्यार्थीलाई प्रेसर दिनु चैं राम्रो हैन होला । अनि व्यावहारिक ज्ञान भए अझ राम्रो । इसिए अझ प्रभावकारी गरेको राम्रो । हामीले त राम्रो अवसर पायौँ, यसको पनि, तर हैन सबैलाई यो अवसर मिल्दैन नि ! अवसर दिनुपर्यो । विद्यार्थीको फरक क्षमतालाई पनि पहिचान गर्नुपर्यो । अस्ति है, मैले बनाएको चित्रले पाँच हजार कमायो । चित्र किन्ने मेरै गुरु हुनुहुन्थ्यो, मनु सर । आफ्नो क्षमता र मेहनतले कमाएको कुरा कत्ति माया लाग्ने, गर्व नि लाग्ने । अनि विद्यालय र विशेषगरी गुरुहरुलाई धन्यवाद । वहाँहरुलाई कहिल्यै विर्सन सक्दिन हुँला ! तपाईंलाई पनि धन्यवाद ।
विद्यार्थीसँगको कुराकानीमा संघीय याख्खालाई लिएका थियौँ । उनी, झापा मोडल अंग्रेजी सामुदायिक विद्यालय, दमकमा अध्ययन गरी वर्षको एसईई परीक्षामा सामेल भएकी थिइन् । उनी पत्रकार तथा राजनीतिज्ञ कमन देवानका छोरी हुन् ।