May 13, 2024, Monday
२०८१ जेष्ठ १
1:37:26 pm

रियल सोसिडाड ला लिगामा शीर्ष स्थानमा उक्लियो

२०७८ कार्तिक २२

2.1K

स्पेनिस ला लिगामा रियल सोसिडाडको जित लय जारी रहेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि माइकल मेरिनो र एडनान जानुजाजले १–१ गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेका थिए । ७२औं मिनेटमा खाता सोसिडाडले खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमार्फत गोल गर्दै सोसिडाको अग्रता दोब्बर पारे । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।

सोसिडाडल ५७ प्रतिशत बल पोसेसन राखेकोे थियो भने खेलभर नौ वटा पोस्ट प्रहार गरेको थियो । सोसिडाडका डेभिड सिल्भा ‘म्यान अफ दी म्याच’ बने ।

Advertisement

जितसँगै सोसिडाड फेरि शीर्ष स्थानमा उक्लिएको छ। १३ खेलमा आठ जित, चार बराबरी र एक हार खेपेको सोसिडाडको २८ अंक छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २७ अंक छ। रियलले एक खेल कम खेलेको छ ।

तेस्रो स्थानमा रहेको सेभियाको पनि २७ अंक छ । सोसिडाडसँग पराजित ओसासुना १९ अंक सहित सातौं स्थानमा छ ।

आइतबार रातिनै भएको खेलमा सेभियाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा २–० गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

सेभियाको जितमा मार्कोस अकुनाले ५५औं मिनेटमा गोल गरे । सेभियाले अर्को गोल ८१औं मिनेटमा रियल बेटिसबाट आत्मघाती उपहार पाएको थियो। बल बचाउने क्रममा हेक्टोर बेलेरिनको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।
४५औं मिनेटमा गुईडो रोड्रीग्वेज दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएका बेटिस दबाबमा परेको थियो । सेभियासँगको हारसँगै २१ अंक बनाएको बेटिस पाँचौं स्थानमा छ ।

अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिड भ्यालेन्सियासँग ३–३ गोलको बराबरीमा रोकिएको छ। भिल्लारियलले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। मालोर्का र इल्चेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।