काठमाडौं– कोरोना महामारीका बीच हुने हजका लागि जाने तीर्थयात्रीका लागि साउदी अरबले मापदण्ड तोकेको छ। यस पटकको हज यात्रा आउँदो जुलाईको मध्यदेखि सुरु हुनेछ ।
मापदण्ड अनुसार यसपालि ६० हजारले मात्र यात्रा अनुमति पाउनेछन्। कोरोना भाइरसको संक्रमण फैलिएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ। हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने साउदीलाई उद्धृत गर्दै समाचारहरुमा उल्लेख छ।
मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउनेछन् ।
हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने तथा गम्भीर खालको रोग लागेका वा बिरामी परेका व्यक्ति जान पाउनेछैनन्। यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ।