April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा प्रदर्शन

1.9K

काठमाडाैं- राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा प्रदर्शन भएकाे छ।

शनिबार ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलो, ब्रासिलिया र रियो दि जेनेरियोमा हजारौं प्रदर्शनकारीहरुले बोल्सोनारोविरुद्ध प्रदर्शन गरेका हुन्।

राजधानी ब्राजिलिया र रियो दि जेनेरियोमा शान्तपपूर्ण प्रदर्शन भएकाे थियो तर, उत्तरपूर्वी शहर रेसिफमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरकाे गाेली प्रहार गरेकाे थियाे।

Advertisement

ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोमा हजारौं प्रदर्शनकारीहरु मास्क लगाएका प्रदर्शनमा उत्रिएका थिए। एउटा ठूलो बेलुनमा बोल्सोनारोकाे अनुहारलाई भ्याम्पायर बनाउँदै उडाइएकाे थियाे। 

वामपन्थी राजनीतिक दल, युनियन र विद्यार्थी संघहरूले आयोजना गरेको प्रदर्शनमा राष्ट्रपतिविरुद्ध महाभियोग र कोरोनाविरुद्ध थप खोप लगाउन माग गरिएकाे थियाे।

ब्राजिलमा कोरोनाको महामारी सुरु भएसँगै राष्ट्रपति बोल्सोनारोको लोकप्रियता घटेकाे छ। कोरोनाको महामारी सुरु भएदेखि नै बोल्सोनारोले रोकथामका लागि आवश्यक सतर्कता पालना गर्नु नपर्ने बताउँदै आएका थिए। उनले कोरोनाका कारण केही मानिसको मृत्यु भए पनि अर्थतन्त्र रोक्न नहुने शर्त राख्दै आएका छन्।

ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। 

राष्ट्रपति बोल्सोनारोमाथि अहिले महामारी नियन्त्रणको लागि आवश्यक कदम नचालेको र कोरोना खोप कार्यक्रम तीव्र गतिमा अघि नबढाएको विषयमा संसदीय इन्वायरीको सामना गरिरहेका छन्।