March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

चलचित्र सुगुप: सांस्कृतिक पक्ष बलियो, दार्शनिक पक्ष मौन

खुशी लिम्बु
२०८० माघ २८

8.2K

लिम्बू परिवेशमा बनेका ‘नुमाफुङ’, ‘जारी’ जस्ता चलचित्रहरू हेरको भएपनि पुरै लिम्बू भाषामा बनेको चलचित्र हेरेको थिइनँ । ‘सुगुप’ एउटा यस्तो लिम्बु चलचित्र हो जसमा फुङसा (नायिका) र फेदापे (नायक) भन्दा मुनिकाहरुले मात्र फाट्टफुट् खस नेपाली भाषा बोल्छन् । चलचित्रका धेरैजसो पात्रहरु नायक-नायिकाभन्दा माथिका उमेरका छन् । अतः ९० प्रतिशत जस्तो भाषा लिम्बू भाषामै बनेको छ । तर ‘याक्थुङ् पान’ नबुझ्ने नयाँ पिंढीका लागि सबै संवादहरुलाई ‘सबटाइटल’सहित राखिएको छ । भाषाविज्ञ डीबी आम्बुङले लिम्बू भाषालाई खस नेपाली भाषा र अंग्रेजीमा उल्था गरेका छन् ।

चिनियाँ नयाँ बर्षको छुट्टी, मौसम इम्बुङ र निर्माताहरुको समाजिक पूँजी (अर्थात आफ्नो चिनाजानी र सम्पर्कलाई शक्तिमा बदल्ने तागत) ले गर्दा गत फेब्रुवरी १० शनिबारको दिन हङकङको ह्वाम्पो सिनेमा हल दर्शकले भरियो । अपरान्ह ५ बजेको भन्दा साँझ ७ बजेको शो बढी बाक्लो देखियो । दुवै शोको लागि चार–चार वटा गरी जम्मा आठवटा हलहरुमा प्रदर्शन गरियो । भित्री हल खचाखच नहुनमा प्रत्येक हल आफैंमा ठूलो भएर पनि होला । त्यस्तै निर्माता टीम र फिल्मका नायक मौसम लिम्बूको राम्रो सञ्जाल र तीन महिनादेखिको टिकट ‘पुशसेल’ले गर्दा धेरैले चाहेर वा ‘नो’ भन्न नसकेर सहयोग स्वरुप धेरैले टिकट लिएका तर कतिपय हेर्न नआएका पनि हुन सक्छन् । दुवै शोका लागि कतिपयले टिकट पाउन हम्मेहम्मे परेको थियो । त्यस अर्थमा सुगुपले पहिलो शोबाटै निकै राम्रो अर्थ बटुल्यो भन्न सकिन्छ ।

चलचित्र ‘सुगुप’ लिम्बू परिवेश र संस्कारसंस्कृतिमा आधारित छ । कथा, विषयवस्तु र नायिका फुङसा (बबिता नयोङहाङ) को बेजोड उपस्थिति सबैले चलचित्र नारीप्रधान हो भन्ने सकिन्छ । लिम्बू मुन्धुम परम्परा अनुसार प्रसवको क्रममा मृत्यु भएकी महिलालाई ‘सुगुप’ भन्ने गरिन्छ । सुगुप सामान्य बाटो नभएर सास्तीले भरिएको बाटो वा स्वर्ग पुग्न गाह्रो बाटो लागेको मृतक महिलाको हङ्स हो । अतः उक्त हङ्स (सातो वा आत्मा) लाई कुनै कष्ट नहोस् भनेर लिम्बू बिजुवाद्धारा मुन्धुम परम्परा अनसार सामान्य बाटोमा लाउने कार्य गरिन्छ ।

Advertisement

चलचित्रको सुरुवात र अन्तिममा सुगुप मन्साएको देखाइए पनि चलचित्र सुगुप अन्य धेरै विषयवस्तुहरू दर्शाइएको छ । चलचित्रमा धनी बाउकी छोरी गरिब परिवारमा भागेर (अविभावकको स्वीकृतिबिना गरिएको प्रेमविवाह) विवाह गर्दाको तनावको अवस्था, त्यसो गर्दा नायिका फुङ्साले पाएको दुःख, गरिबीले गर्दा नायक फेदापे मुग्लान जानुपरेको अवस्था, त्यसले श्रीमान-श्रीमतीमा ल्याएको वियोग, गर्भवती अवस्थामा फुङसाले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, छोरी गरिब परिवारमा जाँदा यता माइतमा बाउले खप्नुपरेको समाजको नकरात्मक भनाइहरु सबै प्रस्तुत छन् । यी सबैले सुगुप हेर्न लायकको चलचित्र बनेको छ ।

चलचित्रको गीतको लागि गीतकार जानु काम्बाङको शब्द त मीठो छ तर अशोक लोहोरुङको संगीतमा मिठास भएपनि गीतलाई पूर्वेली जनजीवनको भाका (मेलोडी) मा ढाल्न नसक्दा नेपाली आधुनिक गीत हो कि लिम्बू गीत हो दर्शकहरुलाई छुट्याउन अलिक गाह्रो हुन्छ । त्यस्तै, गीत स्थापित गायक-गायिकाको सुमधुर स्वरले भरिएको भएपनि लिम्बु लवजले गीत उच्चारण गर्न नसक्दा गीत लिम्बुलिम्बुनीले गाएका हुन् कि बाहुनबाहुनीहरुले गाएका हुन् ? छुट्याउन श्रोताहरुलाई गाह्रो हुन्छ । आजकल यो समस्या सुगुपमा मात्रै नभएर अन्य लिम्बू चलचित्रहरुमा पनि विद्यमान पाइन्छन् ।

सुगुपका आ-आफ्नो भूमिकामा सबै जमेका भएपनि नयिकापछि सबैभन्दा जीवन्त अभिनय र संवाद वाचन गर्नेमा फुङ्साकी आमा (माइतमा) छिन् । उनको नाम मलाई जानकारी भएन तर उनी बोल्दा र अभिनय गर्दा अभिनय गरेको जस्तो नभएर साँच्चै जस्तो प्रस्तुत हुन्छिन् । अभिनयको सफलता र मर्म पनि त्यही नै हो । अन्य सजीव र वास्तविक अभिनय गर्ने पात्रहरुमा बाँसघरे काका (रबिन नाल्बो) पनि छन् । आफ्नो भूमिका छोटो भएपनि उनले अपत्यारिलो तरिकाले (किनभने उनी अभिनयमा नयाँ हुन्)राम्ररी निभाएका छन् । फेदाङमाको भूमिकामा याशेली योङहाङ लाखमा एक छन् । उनी लिम्बु संस्कारसंस्कतिमा अनन्त मूल्यका सम्पत्ति हुन् भन्ने फेरि प्रमाणित गरेका छन् ।

फिल्ममा नायक भएपनि मौसम इम्बुङको भूमिका नायिकाको भन्दा छोटो छ । उनले मुग्लानमा बिताएका पलहरुलाई पर्दामा राम्ररी देखाइएको छ । संवादहरू बोल्दा मौसमलाई दर्शकहरु त्यही ‘फुःलेन्देको बाउ’ बोलेको मन पराउँछन्, कुनै भूवन केसी बोलेको जस्तो होइन । किनभने फुङसालाई माइतमा पुर्‍याएर फर्किने बेलामा लोग्नेस्वास्नी छुट्टिदै गर्दाको संवादमा मौसमलाई मौसम भन्दा पनि कताकता अभिनय गर्न नजान्ने भुवन केसी बोलेको जस्तो देखिन्छ । आजको जमाना भुवन केसी र विश्व बस्नेतको होइन । आजको जमाना महजोडी, दयाहाङ राई र मौसम इम्बुङको हो । अर्थात उनीहरुको अभिनय हेर्दा अभिनय नभएर वास्तविक जस्तो लाग्छ । त्यस अर्थमा मौसम इम्बुङको ‘बेस्ट शट’ लिनमा निर्देशक लोकेन साँवा चुकेका जस्ता देखिन्छन् । तर, यो सामान्य कमजोरी मात्र हो, कुनै निर्णायक होइन ।

चलचित्रमा सबैभन्दा फितलो पात्रमा लिजेण्डरी अभिनेता प्रेम सुब्बा देखिएका छन् । उनी बोल्दा यस्तो लाग्छ उनले वास्तवमा लिम्बु भाषा कहिल्यै बोलेका छैनन् । उनको याक्थुङ् पान उच्चारणमा ठूलो समस्या रहेछ । मलाई सुगुप हेरेर थाहा भयो । त्यस्तै उनको संवाद र उनको हाउभाउ (बडी ल्याङवेज र फेसियल एक्प्रेशन) बीच तालमेल राम्रो देखिन्न । आगामी चलचित्रहरुमा उनले सधैं खेल्ने गरेका खस नेपाली भाषाका संवादहरुमा नै जम्छन् । मैले चिनेका अन्य पात्रहरुमा शैलेन्द्र नाल्बो, लिला सेलिङ माबो, इन्द्र पन्धाक र युवराज इश्बोहरूले पनि आफ्नो भूमिकाप्रति न्याय गरेका छन् ।

चलचित्रमा केही हाँसोउठ्दो तर चाखलाग्दो दृष्यहरु पनि छन् । जस्तो कि, कथाको परिवेश तेह्रथुम फेदाप हो । तर फेदापमा शुटिङ नभएर पाँचथरको याङवरकमा शुटिङ गरिरहँदा पारीपट्टिको दृष्य त कावेली खोला, ताप्लेजुङको सिरिजंघा गाउँपालिका (सिनाम, थुम्मेदिन, तेल्लोक आदि) र सिदिङबा गाउँपालिका (साप्लाखु,, मेहेले आदि) पो देखाइन्छ । त्यस्तै, फेदापेका घरबाट पनि त्यही पारीको सिरिजङघा र सिदिङबाको दृष्य देखाइन्छ भने उसको ससुराली (फुङसाको माइतगाउँ) बाट पारीको दुष्य देखाउँदा पनि उही दुष्य देखाइंदा कतै फेदापेको घर र फुङसाको माइतघर एउटै त होइन? जस्तो लाग्छ । अर्को चाखलाग्दो कुरो, फेदापेलाई मुग्लान (भारत) उपचार गर्ने डाक्टर नेपाली नै छन्, तर हिन्दी मात्रै बोल्दा हलभित्र दर्शकदीर्घामा हाँसोको खैलाबैला हुन्छ । नेपाली डाक्टरलाई नेपालीमै संवाद भन्न दिए राम्रो हुन्थ्यो नत्र भारतीय वर्णकोलाई डाक्टर बनाउन पर्दथ्यो ।

सुगुपको एउटा कमजोरी पक्ष भनेको यसमा कला र संस्कृति उपस्थित छ तर दर्शनको अभाव छ । चलचित्रले देखाउन खोजेको दृष्यहरु छन् तर भन्न (दिन) खोजेको सन्देश के हो थाहा हुन्न । के सुगुप संस्कार उचित हो ? हो भने कसरी? कि अनुचित हो? अनुचित भने कसरी अनुचित? समाजमा सुत्केरी हुँदा मर्नु स्वाभाविक हो तर मरेपछि मृतक महिलाको शरीर (कानमा किला ठोक्ने परम्परा) र उनको आत्माप्रति गरिने असम्मान के ठिक हो ? हो भने मुन्धुम त पुनर्लेखन गर्न त सकिन्न तर पुनर्व्याख्या वा पुनर्विचार गर्ने कि नगर्ने ? यदि सुगुम संस्कार ठिक हो भने कुन कोणले कुन हदसम्म ठिक? संस्कार र परम्पराहरू मानव निर्मित हुनु भने यिनमा सुधार गर्न सकिन्छ कि सकिन्न? यी यावत दार्शनिक पक्षहरू सुगुपमा मौन छ ।

सुगुप नाफाको लागि बनाइएको ‘कमर्शियल फिल्म’ भन्दा पनि साँस्कृतिक फिल्म हो । अतः निर्माताहरुले आफ्नो लगानी नउठाए आगामी दिनहरुमा यिनै निर्माताहरु फेरि यस्ता सांस्कृतिक चलचित्रहरू बनाउने कुरा गर्दा तर्सिनेछन् । कला र संस्कृति सधैं ओझेलमा पर्नेछन् । बरु ‘लाली जोवन कालो केश भयो सताउने’ जस्ता फिल्महरू बनाउन लाग्नेछन् । अतः कतिपय कमजोरीहरुका बाबजुद पनि चलचित्र सुगुप हेर्न लायक छ । यदि कसैलाई हेर्न लायक नलागे पनि हेर्नै पर्ने बाध्यता पनि सकारात्मक नै छ । सुगुप जस्ता अन्य चलचित्रहरू तर अझै विकसित रुपमा आगामी दिनहरुमा पनि हेर्न पाऊँ । सुगुप चलचित्रका समस्त टीमलाई बधाई र शुभकामना छ ।
खुशी लिम्बुको फेसबुकबाट साभार

मैच्याङको गालाको कोठी