April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

भैँसीपालनबाट कृषक खुशी, वार्षिक सात लाखसम्म बचत

2.1K

दाङ: तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । उहाँ विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बन्नुभएको हो । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न हुनुहुन्छ । उहाँले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिनुभएको छ । उहाँ पशुपालनबाट सन्तुष्ट हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गतवर्ष सबै खर्च कटाएर वार्षिक करीब रु सात लाख बचत भयो । यस वर्ष कोरोनाका कारण केही नोक्सान भयो । अहिले भने राम्रो छ । ” उहाँको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । उहाँ प्रायः भैँसीका पाडापाडीको स्याहारसुसारमा धेरै व्यस्त देखिनुहुन्छ ।

परम्परागतरुपमा खेतीपाती गर्दै आएकी उहाँले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिकरुपमा भैँसीपालनको शुरुआत गर्नुभएको थियो ।

Advertisement

उहाँले भन्नुभयो “शुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ अहिले भने फममा साना ठूला गरी २८ वटा मुर्रा जातका भैँसी छन् । तीमध्ये १० दुहुना भैँसी रहेका छन् भने अरुले अब छिट्टै दुहुना हुने अवस्थामा छन् । ”

उहाँले अहिले भैँसीले दैनिकरुपमा दिनेगरेको ११० देखि १३० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ भने केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरिद गरी लिनेगरेको जाकारी दिनुभयो ।