काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आइतबार नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइस र माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिसलेनले शिष्टाचार भेट गरेका छन् ।
भेटमा एडिबी र विश्व बैंकका प्रतिनिधिहरूले डा. वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटका क्रममा उनीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि विगत लामो समयदेखि हुँदै आएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । सो अवसरमा नेपाल, एडिबी र विश्व बैंकबिचको ऐतिहासिक र बलियो साझेदारीलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएको थियो ।
अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास प्राथमिकताहरूमा बहुपक्षीय दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले आगामी दिनमा समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।