काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा लगातार ठूलो अंकको गिरावट आएपछि शेयर लगानीकर्ताहरू सडक आन्दोलनमा उत्रिएका छन् । सरकारको पछिल्लो गतिविविधिलाई लिएर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी दीपक भट्टलाई १९ चैतमा पक्राउ गरेको थियो । सोही मुद्दाको अनुसन्धानका लागि भन्दै सरकारले गत शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको थियो । तर अग्रवाललाई प्रारम्भीक अनुसन्धानपछि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थुनामुक्त गरेको छ ।
तर, आजै पक्राउ परेका सोही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई भने अदालबाट ५ दिनको अनुमति लिएर सरकारले अनुसन्धान गरिहेको छ ।
व्यवसायीहरूको निरन्तरको गिरफतारीले यता शेयरबजार प्रभावित बनेपछि आइतबार लगानीकर्ताहरू निजीक्षेत्रमाथिको धरपकड रोक्न माग गर्दै सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।