काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष उद्यमी शेष घले र जमुना गुरुङ यस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा अटाएका छन् ।
द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र गुरुङ क्रमशः १५०औं र १५१औं स्थानमा रहेका छन् । घले दम्पती लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् । उनीहरू सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।
उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।
नेपालमा जन्मिएका उद्यमी गुरुङ र घलेले सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया बसाइँ सरेका थिए । यो दम्पतीले सन् १९९६ मा स्थापना गरेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मेलबर्न र सिड्नीमा क्याम्पसहरू र अष्ट्रेलियाका विश्वविद्यालयहरूसँगको साझेदारीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अष्ट्रेलियाको सबैभन्दा ठूलो निजी उच्च शैक्षिक संस्थाहरूमध्ये एक बनेको द अष्ट्रेलियनले उल्लेख गरेको छ ।
शैक्षिक व्यवसाय मुख्य उद्यम रहे पनि घले दम्पती निरन्तर रूपमा घरजग्गा व्यवसायमा पनि संलग्न छ । उनीहरूले मेलबर्नभरि व्यावसायिक सम्पत्तिहरूको पोर्टफोलियो अधिग्रहण गरेका छन्, जसमध्ये धेरैवटामा एमआईटीका क्याम्पसहरू सञ्चालित छन्।
उनीहरूको सबैभन्दा प्रमुख सम्पत्ति, सीबीडीको उत्तरी किनारामा ३८६–४१२ विलियम स्ट्रिटमा रहेको ३,९०० वर्ग मिटरको जग्गा सन् २००९ मा १ करोड ७८ लाख डलरमा खरिद गरिएको थियो र यसलाई पुनःनिर्माणका लागि छुट्याइएको छ।
सन् २०२५ मा त्यहाँ रहेको पुरानो भवन भत्काएपछि कार्यालयको बजार सुस्त भएको कारण देखाउँदै यो जोडीले आफ्नो योजनालाई कार्यालय भवनबाट परिवर्तन गरी विलासी लक्जरी होटल र सर्भिस अपार्टमेन्ट बनाउने तर्फ मोडेका द अष्ट्रेलियनले उल्लेख गरेको छ । उक्त खाली जग्गाको भूमि कर मात्रै वर्षको करिब २० लाख डलर लाग्ने घलेले जानकारी दिएका छन् ।
‘गुरुङ र घलेले शिक्षा र सामुदायिक परियोजनाहरूलाई सहयोग गर्नुका साथै, बेल्जियम र नेपालमा होटलहरूको स्वामित्व राखेका छन् र तिनको विकास गरिरहेका छन्, जसमा काठमाडौंमा छिट्टै खुल्न लागेको एउटा प्रतिष्ठित प्रोपर्टी (होटल) पनि समावेश छ,’ द अष्ट्रेलियनले भनेको छ ।