काठमाडौं । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले खाडी मुलुकमा रहेका नेपालीरूलाई तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै बोहराले अमेरिका, इजरायल र इरानबिच बढ्दो युद्धको तनावका कारण खाडी क्षेत्रमा कार्यरत झन्डै ८० देखि ८५ हजार नेपालीको जीवन जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
हिंसात्मक घटनाका कारण कतिपय नेपालीको मृत्यु भएको र केही घाइते भएको पुष्टि भइसकेको जानकारी दिँदै बोहोराले नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको बताए । बोहराले युद्धग्रस्त क्षेत्र र त्यसको प्रभाव परेका मुलुकहरूमा रहेका नेपालीहरू ठुलो संख्यामा स्वदेश फर्कन चाहेकाले उनीहरूका लागि सुरक्षित वातावरण मिलाउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।
उनले सदनमार्फत सरकारलाई आग्रह गर्दै विदेशमा रहेका नेपालीहरूको उद्धारका लागि ठोस योजना र प्रभावकारी कदम चाल्न माग गरे । खाडी मुलुकमा रहेका नेपाली कामदारहरू युद्धको चपेटामा परेर अलपत्र पर्न सक्ने भन्दै उनले सरकारले कूटनीतिक पहल र आवश्यक साधन स्रोतको परिचालन गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा घर फर्काउनुपर्ने धारणा राखे ।