-गगन घिमिरे,
इलाम । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय मङ्गलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय सुनाएकी हुन् ।
इलामको माइजोगमाई गाउँपालिकामा सान्भी इनर्जी प्रालिले ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।
माइजोगमाई गाउँपालिका ३ स्थित ७.६ मेगावाट क्षमताको जोगमाई जलविद्युत आयोजनाको विद्युतगृहबाट निस्कने पानीलाई कनेक्टिङ च्यानलमार्फत् जोगमाई खोलाको दोभान नजिक निर्माण गरिने विद्युतगृहबाट ५.२ मेगावाट क्षमताको आयोजना निर्माण भइरहेको हो ।
आयोजनाबाट उत्पादित विद्युत ७ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत् इलाम नगरपालिकामा रहेको १३२ केभी क्षमताको गोदक सव(स्टेसनमा जोडिनेछ । त्यसपछि विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ ।
१ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजना लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकले ऋण लगानी गरेका छन् ।