काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले मिटरब्याजी पीडितलाई स्थानीय र प्रदेश सरकारले न्याय दिन नसकेर संघीय सरकार गुहार्न काठमाडौँ आउनु संघीय शासन व्यवस्थाकै उपहास भएको बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासबाट मार्च पास गर्दै काठमाडौं आइपुगेका मिटरब्याजी पीडितको सम्बन्धमा टिप्पणी गर्दै यसले वर्तमान शासन व्यवस्था माथि नै प्रश्न उठाएको बताएका छन् । ‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आई पुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँ गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ, यो अवस्थामा संघीय सरकारले अति शीघ्र चासो दिनु पर्ने हो’, साहको टिप्पणी छ ।
आन्दोलनमा आएका पीडित प्रति लक्षित गर्दै साहले न्याय माइतीघरले दिने नभई कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषद्ले दिनु पर्ने बताए ।
सोमबार काठमाडौं आइपुगेका आन्दोलनकारीलाई खुल्ला मञ्चमा प्रवेश गर्न काठमाडौं महानगरपालिकाको प्रहरीले रोकेको थियो । त्यसको आलोचना भएपछि सामाजिक सञ्जाल फेसबुकमा साहले खुलामञ्च निषेधित क्षेत्र नभएको र नहुने प्रष्ट पारे । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद भएको कारण उनीहरूलाई खुलामञ्च प्रवेश गर्न रोकिएको साहको भनाइ छ ।
यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभई न्यायको लागि भएको उनको भनाइ छ । काठमाडौँ महानगरले उहाँहरूको सुरक्षित बसाइका लागि सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको साहको दाबी छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउँदै आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए ।