April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

करिब आठ अर्ब लागतमा काठमाडौंमा भब्य भ्यूटावर : अर्को बर्ष संचालनमा आउने

1.6K

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिए ।

विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो ।

उनले भने, “संरचनाको अधिकांश आधारभूत काम सकिँदैछ । अब सुपर स्ट्रक्चर (बाहिर देखिने स्वरुप)बाँकी छ । महानगरको सहयोग पाए एकदेखि डेढ वर्षभित्र भ्यूटावर सञ्चालनमा ल्याउँछौँ ।” भ्यूटावरको दुई तलाको बेसमेन्ट र त्यसमाथि नौ तलाको संरचना बनिसकेको छ । उनका अनुसार जमिनमुनिको सबै काम सम्पन्न भएको हो ।

Advertisement

सम्झौताबमोजिम पाँच वर्षभित्र निर्माण सम्पन्न नगर्नु आफूहरूको कमजोरी भएको कम्पनीले स्वीकार्दै आएको छ । “ढिला भएको स्वीकार गर्छौँ । तर अहिले काम निरन्तर भइरहेको छ”, उनको भनाइ छ ।

अहिलेसम्म भ्यूटावर संरचना निर्माण कम्पनीले रु चार अर्ब खर्च भइसकेको जनाएको छ । निर्माण सम्पन्न हुँदासम्म थप रु चार अर्ब खर्च हुने आकलन छ । कम्पनीले वार्षिक ९८ लाख कर तिर्दै आएको छ । सम्झौताको अवधि सकिएको चार वर्ष पुग्न दुई महिना बाँकी हुँदा कम्पनीलाई कारबाही गर्ने वा सहयोग भन्ने छलफल भइरहेको छ ।

तेइस रोपनी पाँच आना जग्गामा विसं २०७१ फागुन २२ मा काठमाडौँ महानगर र जोइन्ट भेन्र्चस जलेश्वर, स्वछचन्द र बिकोइ बिल्डर्स प्रालिबीच सम्झौता भएको थियो । अदालत र अख्तियारमा परेको उजुरीको फछ्र्यौटपछि २०७३ साउन ३० गते कम्पनीले कार्यादेश पाएको थियो । सम्झौताअनुसार २०७५ फागुनभित्र २३ तले भ्यूटावर निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

विसं २०७२ को भूकम्पपछि सम्झौताको शर्तका आधार परिवर्तन भयो । भ्यूटावर ३२ तला बन्ने भनिएकामा १२ तलाको संरचनाको नक्सा पास भएको थियो । २०७२ कात्तिक २५ गते भवनको शिलान्यास भएको थियो । भ्यूटावरभित्र सिनेमा हल, सपिङ मलदेखि टर्मिनलको व्यवस्था हुने बताइएको छ ।