काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारले सरकारी कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब दिन नसकेको बताए । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई पर्याप्त तलब दिन नसकेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले भने, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’ सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको अपर्याप्त रहेको उनको भनाइ थियो ।
शर्माले सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने बताए । राजश्व आम्दानी बढाउनुको विकल्प नभएको भन्दै अर्थमन्त्री शर्माले राजश्व क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी फरक र महत्वपूर्ण रहेको बताए । ‘सिंगो अर्थतन्त्र यसैमा निर्भर छ । देशको भविष्य यसैमा निर्भर छ । यो चलेन भने देश चल्दैन । यसकारण यो मुलुकको मेरुदण्ड हो’, उनले भने ।