सम्झना नाटक र यात्रा…
गाउँमा बैशाखदेखि असारसम्म धिमाल जातिको जात्री मेला अर्थात ढङढ्ङगे मेला लागीरहेको छ । ग्रामथान छ । परम्परागत सँस्कृतिमा धिमालहरू प्रकृति पुजक हुन् । यिनको आफ्नै देवीदेवता छन् । मुर्त नभएपनि ग्रामथानमा समय मिलाएर विभिन्न देवता पुकारी बिन्ती बिसाउदै पूजा गरिन्छ । मेलाको अर्कै साँस्कृतिक बिम्बन् छ । मान्छेको भेटघाट, आफन्तको मिलन, चिनो साटासाट र मायाको प्रस्ताव वा स्वीकृति, अस्वीकृति ।
दृश्यमा, मेला हेर्ने निहुँले भेट भएका केटाकेटी आफूलाई मन परेको मान्छेलाई मायाको प्रस्ताव राखी प्रेमको बन्धनमा कसिने कसिलो डोरी बाँध्न तयार हुन्छन् । पान, सुपारी र चुरा यस्तै यस्तै चिनो दिएर फेरि केटा वा केटीले सोही समान फिर्ता दिए पक्का हुने मेला र सम्बन्धको प्राचीन चलन हो धिमाल समुदायको ।
झोडा फाडेर सुन्दर जीवन सजाउन मधेस झर्दै गरेका बलिया पहाडहरू बाटै बाटो तल मधेस झरेपछि धिमालहरूसङ अन्तरघोलित भएर बस्छन्। लाग्छ उहिले छुटेका लिम्बू र धिमाल दाजुभाइहरू बर्षौपछि आज भेट भएका हुन् झोडामा। नाटक हेरिरहदा झ्याम्मै याद आउँछ जात्री मेला र गाउँको सम्झना। दमकवासी र धिमाल समुदायसङ अन्तरघुलन भएर बसेको समुदायका लागि त यो एउटा मीठो सम्झना बन्छ मेलाको ।
खासमा झोडा के हो?
– झोडा कथ्यलाई संस्मरण गर्दा नेपालमा प्रजातन्त्र स्थापनाको लागि भूपू सैनिकहरूको ठुलो योगदान देखिन्छ। वि.स. २००७ सालको क्रान्तिमा तिनले दिलोज्यान दिए । वि.स. २०१७ पौष १ गते जननिर्वाचित संवैधानिक प्रजातन्त्र माथी राजा महेन्द्रले कू गरे । देशमा पञ्चायती व्यवस्था सुरु भयो। राजनैतिक दलको रुपमा नेपाली कांग्रेस निकट रहेका भूपू सैनिकहरू रुष्ट हुने नै भए । यो मुद्दालाई राजा महेन्द्रले नजिकबाट नियालेका थिए । अन्तत; वि.स. २०२१ सालमा भूमिसुधार ऐन आयो । त्यसले लिम्बूहरूको राजनैतिक अस्तित्वको किपट खारेज गर्यो । सामुदायिक तथा राजनैतिक अस्तित्वको किपट खारेज भएपछि लिम्बूहरू झनै रुष्ट भए । एकीकृत क्रान्तिको भयले उक्त आक्रोस मेट्न झोडा व्यवस्थापनको प्रपञ्च रचीयो। हतियार खेलाउन पारङ्गत भूपू सैनिकहरूलाई झोडा व्यवस्थापनको लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा व्यवस्था गर्ने भनियो ।
त्यसपछिका द्वन्द्वमा वाँकी कथाहरू, संघर्षहरू र ती समुदायले देखेका सपना साथै सामाजिक अन्तर्घुलनलाई नाटकमा प्रस्तुत गरिएको छ। आजको मधेश, जसलाई औलो र हिङ्स्रक जनवारको सामना गर्दै वस्नयोग्य भूमी बनाए, ती आदिवासी धिमाल र कुमाल समुदायसँगको अन्तर्घुलनलाई नाटकमा गज्जपले प्रस्तुत गरिएको छ।
आखिर के भयो झोडा व्यवस्थापन ?
– वि.सं. २००० को आसपास नै पहाडीया समुदाय मधेस झर्न थालेको भएता पनि झोडा बस्ती र झोडाको व्यापक फडानी भने वि.सं. को २०२१ पछि भएको देखिन्छ । लिम्बूहरूको राजनैतिक अधिकार र राजनैतिक सामित्वसँग गाँसिएको किपट उन्मुलनको आक्रोस मेटाउन पनि दरवारको प्रपञ्च थियो झोडा व्यवस्थापन। एकातिर राजनैतिक अधिकार सामित्वको किपट खोस्न ‘किपट उन्मुलन ऐन –२०२१’ ल्यायो भने लिम्बूहरूलाई थमथम्याउन र अझ राष्ट्रवादी बनाउन झोडा ब्यवस्थापनको निति ल्याएको देखिन्छ ।
उबेला तराईका फाँट वनजंगलले ढाकेको थियो । वस्ती बसाउन सहज थिएन । बडेमानको रुखहरू काटन पाईन्न थियो। अन्न र कृषिको समस्या थियो। बनपालेले दुख दिन्थ्यो। राज्यले झोडा अधिकार भनेपनि राजनैतिक संयन्त्र संग मेल नखानाले झोडा आवाद गर्नेले दुख पाए। दिउँसै डाका लाग्ने, अझ चिठी काडेरै डाका डाल्ने काम हुन्थ्यो, पाकेको अन्नहरू खेतबाटै उठाईन्थे। वि.स. २०२८ सालमा झोडाबासीलाई हटाउने नाममा मोरङको रमाइलो गाउँमा सेनाले झोडावासीलाई गोलि समेत दागेका थिए। त्यसैले वि.स. को २०२६ देखि २०३३ सालसम्म झोडाको संक्रमणकालीन समयको रुपमा लिन सकिन्छ ।
झोडा संघर्ष यति लामो र यति घातक हुन्छ भनेर सोचेकै थिएनन् भूपूहरूले। सुरुमा चार बिघाको दरले पाहिन्छ भनेर त्यति नै चासभोग गरे। पछि डेड बिघामा खुम्च्याईयो। भूपू सैनिकको नाममा जग्गा बितरण भएन, एक बिघा दस कठ्ठा जग्गा सामित्वको लागि आदिवासी भूपू हरू सुकुम्बासी हुनुपर्यो। सुकुम्बासीको नाममा उनिहरूलाई जग्गा धनिपूर्जा बितरण गरियो । झोडा व्यवस्थापनका विविध पक्षहरूमध्ये लिम्बू समुदायमा निहित राजनीतिक पक्षलाई नाटकमा उतार्ने कोशिस गरिएको छ ।
नाटकमा छ के?
तराई मधेश झरेर बाक्ला जङ्गल र झोडा फाड्नेहरूको कथा हो – झोडा । नाटकले राजनीतिक र सामाजिक फेरबदलको कुरा देखाउँछ । पञ्चायतकालीन राज्य व्यवस्थाको शिकार आदिवासी समुदाय कसरी बन्दै गए थाहा पाउन सकिन्छ। कुनै पहाडी गाउँबाट कथा सुरु हुन्छ । पूर्व सैनिकका एक जहानसहित एक जमात मधेश झर्न ताँती बाँधेर बाटो लाग्छन् । सरकारको योेजनामुताबिक बिगाहा जमिन पाउने लालसा र परिवारको सुखद भविष्य निर्माण गर्ने चाहनाले महाभारत र चुरे पहाडी श्रङ्खला छिचोल्दै तराई झरेको र त्यसपछिको अन्तर्सघर्षको कथ्य छ नाटकमा ।
मधेश पुग्ने बेला एक ढुङ्गा देख्छन् । भित्री मधेश छिर्दै गरेको सङ्केत हो त्यो । पहाडका आदिवासी याक्थुङ लिम्बु र तराईका आदिवासी धिमाल समुदाय छुट्टिएको विन्दु पनि हो । पहिलो ग्रामथामलाई दुई समुदाय छुट्टिएको क्षेत्र पनि मानिँदै आएको छ । यो लोककथा दुवै समुदायमा अहिले पनि छ । नाटकमा याक्थुङ र धिमाल सँस्कृति बरोबर देख्न पाइन्छ ।
कुल झोडा, महेश्वर झोडा, रङ्गेली झोडा आदि पूर्वका चर्चित झोडाहरू हुन् । कथाले पूर्वकै एक झोडामा पु¥याउँछ । पहाडबाट झरेका समूहले वन फाँड्न थाल्छन् । त्यसबीच, वनपालेहरूले हस्तक्षेप गर्न थाल्छन् । र, सुरु हुन्छ द्वन्द्व । यसबीच राजनीतिक शक्तिहरूले खेल्न सुरु गर्छ । जङ्गली जनावरहरूको त्रासबीच पनि दुःखले आवाद गर्ने भूमि खोजिरहेका उनीहरूलाई राज्यले थप दुःख दिन्छ । नाटकमा उनीहरूको सङ्घर्ष मज्जाले हेर्न पाइन्छ । माया, प्रेम, ठट्यौलीले मुग्ध बनाइरहँदा खेप्नु परेको दुःखले अस्थिर बनाउँछ । जगर, बगर, खोलानाला, तीते माछाका धनी कसरी भूमिबाट बेदखल र सुकुम्बासीसम्म हुने संघारमा पुगे भन्ने साङ्केतिक कथा पनि हो झोडा ।
पुर्वमा जसोतसो आफ्नै तागतमा मौलाइरहेको नाट्य सस्कृती आफैमा एउटा आन्दोलन र क्रान्ती हो।साहित्यको आफ्नै लय छ सुर छ। समाज रुपान्तरणमा यसको बेग्लै देन छ ।देश बचाउन होस् वा सिमाना जोगाउन अक्षरको शक्ति हामीले देखेकै हो।त्यो बेला झोडा फाडेर गाउँ बसाल्न लाहुरेहरूले गरेको योगदान जे भएनी अब हामीले भएको देश र यहीँको माटो मिलेर बचाउनु छ। ईतिहास जे सुकै होस् वर्तमान दर्बिलो बनोस् ।
नाटकमा संगीत संयोजनले हुरुक्कै बनाउँछ। कलाकारहरूको मेहनत राम्रै देखिन्छ ।
नाटक ‘झोडा’ का निर्देशक रंगकर्मी चेतन आङ्थुपो हुन्। गणेश रसीककृत ‘आकाशगङ्गाको ओतमुनी’ पुस्तकलाई नाट्य रुपान्तरण सुमन लिङ्देनले गरेका छन्। व्यवस्थापकमा सुर्य लिम्बू छन् भने यश नाटकको निर्माता सुरेश माङपाहाङ राई रहेका छन्।
नाटक ‘झोडा’ यहि असोज मसान्तसम्म किराँत भवन दमकमा मञ्चन हुनेछ।