लण्डन । बेलायतमा शुक्रवार आएको युनिस आँधीका कारण जनजीवन प्रभावित बनेको छ । तीन दशक यताकै निकै खतरनाक मानिएको आँधीका कारण तीन जनाको मृत्यु भएको छ ।
आँधीले रुखहरु ढाल्नुका साथै भग्नावशेषहरु उडाएको थियो । लण्डनमा करिब ३० वर्षकी एक महिला, ह्याम्पसरमा करिब २० वर्षका युवा तथा मर्सिसाइडमा ५० वर्ष पार गरेका एक पुरुषको मृत्यु भएको हो ।
आँधीका कारण बेलायतसहित युरोपका अरु देशमा पनि जनजीवन प्रभावित भएको छ । आँधीका कारण बेलायतमा करिब दुई लाख घरको विद्युत सेवा अवरुद्ध भएको छ । यस्तै दुई लाख ५० हजार घरमा विद्युत सेवा केही समय अवरुद्ध भएको थियो । वेल्सका सयौं विद्यालय र रेल सेवा पूर्णरुपमा रोक लगाइएको छ ।
आँधीका कारण अझै पनि तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सचेत गरिएको छ । बेलायतको मौसम विभागले लण्डन, इङल्याण्ड र वेल्सका केही स्थानमा रेड अलर्ट जारी गरेको थियो ।
आँधीका कारण पूर्वी लण्डनमा रहेको विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको थियो ।