काठमाडौं । सामाजिक अभियन्ता तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खानुपरेको बताईन् । पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताईन् । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
मेनपावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले शनिबार हेलमेट कार्यक्रम गरेको उनले बताइन । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियान्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भएपनि पीडितको गुनासो कसैले पनि नसुनेको बताईन् ।
‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय निकायको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाई गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यतिधेरै निकाय हुँदा पनि किन यतिधेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्वभित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन ।
वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरासमेत लुटपाट भएको उनले बताईन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेनपावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।
वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोही नभएको उनले बताईन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाई छ ।