February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

विज्ञताको विज्ञापनः व्यक्तिगत महिमाको एक खोज

खुशी लिम्बू लण्डन।
२०८१ माघ १०

1.2K

भावना र अनुभव सबैसित हुन्छ। कसैले पोख्छन्, कसैले पोख्दैनन्। जसले पोख्छन्, उनीहरूले पनि फरक-फरक तरिकाले पोख्छन्—कसैले शैली मिलाएर, कसैले हतारमा, अनि कसैले अलिक ढंग मिलाएर। यी सबै स्वाभाविक हु्न्। तर जब हामी आफ्नो विचार, लेख, वा पोस्टलाई अरुले मन पराउँदैमा, त्यसैको आधारमा आफूलाई “विज्ञ” घोषणा गर्न थाल्छौं भने यो एक गम्भीर छलफलको विषय बन्न पुग्छ। विज्ञताको परिभाषा र यसको प्रकृतिलाई बुझ्न यसमा गहिरो विश्लेषण आवश्यक देखिन्छ।

प्रत्येक मानिसमा केही न केही गुण निहित हुन्छ। प्रकृतिले प्रत्येक व्यक्तिलाई विशिष्ट प्रतिभा दिएको छ। तर त्यसलाई कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हो। कुनै व्यक्ति नाच्नमा माहिर छ भने ऊ रंगमञ्चमा आफ्नो प्रतिभा देखाओस्, अस्पतालमा गएर नाच्न थाल्यो भने हास्यास्पद बन्छ। त्यस्तै, कुनै व्यक्ति कानूनको ज्ञाता हो भने ग्राफिक डिजाइनरहरूको समूहमा गएर आफूलाई विज्ञ घोषणा गर्नु ठीक हुँदैन। विज्ञता भनेको आफ्नो ठाउँ, परिस्थिति, र विषयको सान्दर्भिकता बुझ्न सक्ने क्षमतासँग जोडिएको कुरा हो। यसले केवल ज्ञान मात्र होइन, विवेक र आत्मसमीक्षा पनि माग्छ।

विज्ञता भनेको लामो समयको अध्ययन, अनुभव, र मिहिनेतबाट आर्जन गरिने गुण हो; एक अलङ्कार हो। विज्ञता व्यक्ति स्वयंको कर्म, विचार, र प्रभावले प्रमाणित हुन्छ। साँचो विज्ञ अरूले खोजीखोजी सुन्ने र पढ्ने व्यक्ति हुन्छ। विज्ञता कुनै वस्तुजस्तो होइन जसलाई जबर्जस्ती अरूको सामु राख्न पर्दैन। विज्ञता भनेको त्यस्तो गुण हो, जसलाई अरुले सहजै स्वीकार गर्छन्। विज्ञतामा दुर्लभताको गुञ्जायस रहन्छ।

Advertisement

सामाजिक सञ्जालका च्याट ग्रुप जस्ता सार्वजनिक प्लेटफर्महरुमाआफ्नो विचार राख्नु हरेक व्यक्तिको स्वतन्त्रता हो। तर आफ्ना पोस्टलाई जताततै शेयर गर्ने, जबर्जस्ती अरूलाई देखाउने, र बारम्बार आफूलाई विद्वानको रूपमा प्रस्तुत गर्न खोज्नु भनेको विज्ञताको गुण होइन। यस्तो व्यवहारलाई मनोविज्ञानले ‘glory seeking’ अर्थात् ‘महिमा खोज्ने प्रवृत्ति’ को रूपमा व्याख्या गरेको छ। जसअनुसार यस्तो व्यक्ति आफ्ना विचार र क्रियाकलापलाई स्थापित गराउन बाहिरी स्वीकारोक्ति (external validation and approval) को खोजीमा सदा तल्लीन रहन्छ। उनीहरू आफ्ना पोस्ट, स्टाटस, वा विचारमा बलात् अरुको प्रसंशा, ध्यान र मान्यताको आशा राख्छन्।

मनोविज्ञहरूले यस्तो व्यक्तिगत महिमाको खोजी (glory seeking) र स्वीकृति लत (validation addiction) को कारणबारे गहिरो अध्ययन गरेका छन्। उनीहरुका अनुसार जब कुनै व्यक्तिमा आत्मसम्मानको कमी हुन्छ, उनीहरू बाहिरी मान्यतालाई अति महत्त्व दिन्छन्। उनीहरू समाजमा आफ्नो स्थान खोजिरहेका हुन्छन्, तर त्यो पहिचान आफ्नो काम र योगदानबाट नभई, बाहिरी प्रशंसा र ध्यानबाट सुनिश्चित गर्न खोज्छन्।मनोविज्ञ रिचार्ड ट्रेभिज (2013) भन्छन् – “डिजिटल युगमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले यस्तो प्रवृत्तिलाई अझ बलियो बनाएको छ। अरूका लाइक, कमेन्ट, र ध्यानबाट उत्पन्न हुने अस्थायी खुशी नै उनीहरूको प्रेरणा बन्न पुगेको छ”।

विज्ञतामा निहित सबैभन्दा ठूलो विशेषता (inherent characteristics) भनेको यसलाई जबर्जस्ती थोपर्नुपर्ने आवश्यकता नहुनु हो। । यो स्वाभाविक रूपमा अरुले पहिचान गर्छन्। साँचो विज्ञ भनेको आफ्ना विचार र कर्मले नै समाजमा प्रभाव पार्ने व्यक्ति हो। उनीहरू आफ्नो विज्ञता अरूलाई देखाउन खोज्दैनन्; बरु उनका विचार, लेख, र कामले नै अरूलाई आकर्षित गर्छ। यदि हामी साँच्चिकै विज्ञ छौँ भने, हाम्रो कामले अरूलाई बोल्न र सोच्न बाध्य बनाउँछ।

आफ्नो वास्तविक मूल्य र क्षमतामा ध्यान दिएर, हामी “ग्लोरी सीकिङ” र “स्वीकृति लत” को दलदलबाट मुक्त हुन सक्छौँ। अन्ततः, विज्ञता भनेको यात्रा हो, गन्तव्य होइन। यसको प्रमाण हाम्रो कर्मले दिन्छ, वाणीले दिन्छ, बाहिरी मान्यताले होइन। “विद्या ददाति विनयम्” भन्ने उक्तिलाई सम्झनु उपयुक्त हुन्छ। यदि हामी साँच्चिकै विज्ञ छौँ भने, हाम्रो विज्ञता हामीले दावी गरेर होइन, अरुले अनुभूति गरेर पुष्टि हुन्छ।

अतः प्रत्येक मानिसका प्रतिभा र गुणका लागि सही समय, ठाउँ, र सन्दर्भ आवश्यक हुन्छ। तर, विज्ञ बन्ने यात्रा भने अध्ययन, अभ्यास, र निरन्तरता बिना सम्भव छैन। विज्ञता एउटा प्रक्रिया हो, जसलाई दाबी गरेर होइन, आफ्नो कर्म र योगदानबाट प्रमाणित गर्न सकौं।

#khusilimbu #gloryseeking #gloryseeker #attentionseeking #attentionseeker #selfadvertisement #validationaddiction #externalvalidation #seekingapproval #personalglory