April 25, 2026, Saturday
२०८३ बैशाख १२
1:37:26 pm

निङ्लेखु समुदायले पूर्खाको ऐतिहासिक तथा पुरातात्त्विक घुमाउने घर संरक्षण गर्दै

तेह्रथुम । निङ्लेखु समुदायले पूर्खाको ऐतिहासिक तथा पुरातात्त्विक घुमाउने घर संरक्षण गर्ने भएको छ । आगे सुब्बा स्वर्गीय महानन्द निङ्लेखुले (१८९०–१९६३) तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका–१, मयन्तापा टारीमा वि.सं. १९४४ मा निर्माण गर्नुभएको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको घुमाउने घर जीर्ण अवस्थामा पुगेकोले, उक्त घरलाई संग्रहालय तथा अनुसन्धान केन्द्रको रूपमा रूपान्तरण गर्ने उद्देश्यले संरक्षण गर्न लागेको हो ।

उहाँका सन्तानहरूद्वारा मिति २०८३ साल बैशाख १९ गते, तेह्रथुम जिल्लाका संघीय प्रतिनिधि सभा सदस्य माननीय सन्तोष निङ्लेखु सुब्बाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

निङ्लेखु वंशका युगपुरुष महानन्द निङ्लेखुले आफ्नो जीवनकालमा समाज सुधारका निम्ति धेरै महत्वपूर्ण कार्यहरू गरेका थिए । उनले आफ्नो थाक्चोके घरको पश्चिमतर्फ पर्ने मुख्य बाटोमा पिपल रोपेर बटुवा तथा यात्रुहरूलाई विश्राम गर्न र छायाँ लिन सकिने चौतारा निर्माण गरेका थिए । जुन आज पनि “पिपली चौतारा” नामले परिचित छ । त्यसैगरी उधौली–उभौली पर्वमा विभिन्न थुमका सुब्बाहरू भेला गराई चाडपर्व मनाउने, अन्नबालीको अवस्था सम्बन्धी छलफल गर्ने परम्परा बसालेका थिए । त्यस समयमा कालु राई (पयाङगु) र जहरसिंह पयाङगुसँग पिपली चौतारामै भेटघाट तथा महत्वपूर्ण निर्णयहरू गर्ने चलन बसेको थियो ।

Advertisement

वि.सं. १९४१ मा स्थानीय उत्पादनको व्यापार सहज बनाउन पोक्लाबाङमा औँसी र पूर्णिमामा लाग्ने जंगी हाटको स्थापनाकर्ताको श्रेय उनैलाई जान्छ । वि.सं. १९४५ को रामनवमीमा मेलाको शुरुवात उनैले गरेका थिए । उक्त मेला क्रमशः खरुङ्वा खोला–तमोर दोभानबाट टारी हुँदै याङ्सिलामा सारिएको थियो ।

नामसुवा उकालोमा खानेपानीको समस्या समाधान गर्न माटोको ठूलो घैला राखी पानीको व्यवस्था, स्थानीयलाई सहजता होस् भनी विभिन्न स्थानमा कृषि तथा घरेलु औजार भण्डारण केन्द्र स्थापना, दुर्लभ वस्तु नुन भोट (तिब्बत) बाट ल्याई गरीब तथा असहायलाई निःशुल्क वितरण गर्ने कार्य, वि.सं. १८३१ को गोरखा–लिम्बुवान सन्धिअनुसार फेदाप क्षेत्रमा शासन व्यवस्था, न्याय–निसाफ र जनसुरक्षाको जिम्मेवारी वहन र कानुनी अधिकार अनुसार डोली पैसा व्यवस्थापन गर्न कामी–कालीगढ राखिएको आदि कार्य सुब्बा महानन्द निङ्लेखुको महत्वपूर्ण काम हुन् । कामी–कालिगढ राखिएको स्थान अहिले पनि कामी डाँडा नामले चिनिन्छ ।

कार्यक्रममा लालिगुराँस नगरपालिकाका मेयर अर्जुन बाबु माबोहाङ, फेदाप गाउँपालिका अध्यक्ष केशव भेटवाल, उपाध्यक्ष सुनीता पाहिम, वडाअध्यक्ष मनबहादुर श्रेष्ठ, विभिन्न थरगत संस्थाका अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरू, इतिहासविद्, मुन्धुमविद् तथा फेदापका १९ थरी लिम्बू समुदायका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

कार्यक्रममा गायक तथा चरित्र अभिनेता सञ्जय निङ्लेकुको गायन, सुन्दर निङ्लेकु र असार सिंह निङ्लेकुको टोलीको पालाम तथा धान नाच पनि रहनेछ ।