समाज परिवर्तन कुनै आकस्मिक घटना होइन; यो निरन्तर समर्पण, स्पष्ट दृष्टि र सेवाभावको परिणाम हो । यस्तै यात्रामा निरन्तर अघि बढिरहेका व्यक्तित्व हुन्– देवान राई । स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व र राजनीतिक सचेतनाको संगममा उभिएका देवान राई आज एक जिम्मेवार स्वास्थ्य व्यवसायी, सक्रिय समाजसेवी तथा सचेत राजनीतिक नेतृत्वका रूपमा परिचित छन् ।
वि.सं. २०३१ साल जेठ २८ गते खोटाङ जिल्लाको बाम्राङ्ग–४ मा जन्मिएका देवान राईको बाल्यकाल ग्रामीण परिवेशमै बित्यो । पिता सुखमान राई र माता लक्ष्मी राईबाट प्राप्त संस्कार, श्रमप्रेम र अनुशासनले उनको जीवनदृष्टि निर्माण ग¥यो । सामान्य परिवारमा उदाएका उनी परिश्रम, अध्ययन र सामाजिक चेतनाका माध्यमबाट आजको स्थानसम्म आइपुगेका हुन् । चार सदस्यीय परिवारका अभिभावक देवान राई मिलनसार, मृदुभाषी र सकारात्मक सोँचका धनी छन् । उनी समाजका एक सर्वप्रिय पात्र हुन् ।
शैक्षिक रूपमा समाज शास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर अनि प्रशासनिक शास्त्रका शोधकर्ताका साथै कानुनमा एलएलवी अध्ययनरत राईले आफ्नो ज्ञानलाई केवल व्यक्तिगत उन्नतिमा मात्र सीमित राखेनन् । उनले स्वास्थ्य क्षेत्रलाई जीवनको मुख्य कर्मक्षेत्र बनाए । लामो समयदेखि स्वास्थ्य व्यवसायमा सक्रिय रहँदै आएका उनी हाल मेरिडियन हेल्थ केयर सेन्टर प्रा.लि.का अध्यक्ष रहेका छन् । साथै एकलव्य वचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी अध्यक्ष तथा मेट्रो मर्चेन्ट इन्भेष्टमेन्ट लि.का प्रबन्ध निर्देशकको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । यी संस्थामार्फत उनले स्वास्थ्य, वित्तीय पहुँच र उद्यमशीलताका क्षेत्रमा सकारात्मक प्रभाव विस्तार गरिरहेका छन् ।
देवान राईको परिचय स्वास्थ्य व्यवसायमा मात्रै सीमित छैन । उनी समाजसेवामा गहिरो रूपमा समर्पित व्यक्तित्व हुन् । स्वास्थ्य व्यवसायी संघ नेपालका अध्यक्षका रूपमा उनले देशभरका स्वास्थ्य व्यवसायीहरूका हकहित, व्यावसायिक मर्यादा र सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् । साथै नेपाल स्वास्थ्य व्यवसायी महासंघका सल्लाहकारको हैसियतमा नीतिगत सुझाव र मार्गदर्शन दिँदै आएका छन् ।
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ । रामप्रसाद राई स्मृति प्रतिष्ठानका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार, पिस फाउन्डेसन नेपालका सचिव, आदिवासी जनजाति बौद्धिक समाज, काठमाडौँका सदस्य तथा किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका केन्द्रीय उपाध्यक्षका रूपमा उनले पहिचान, शान्ति र सामाजिक न्यायका मुद्दामा निरन्तर आवाज उठाइरहेका छन् ।
राजनीतिलाई देवान राईले सत्ता प्राप्तिको साधन होइन, समाजसेवाको माध्यमका रूपमा बुझेका छन् । उनको राजनीतिक यात्रा वि.सं. २०४६ सालको जनआन्दोलनसँगै अखिलमा आवद्ध भएर विद्यार्थी आन्दोलन आरम्भ भएको हो । नेकपा एमाले खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुँदै अध्यक्ष, सगरमाथा अञ्चल सम्पर्क कमिटी सदस्यदेखि प्रदेश सम्पर्क कमिटी सदस्य, केन्द्रीय स्वस्थ्य तथा जनसंख्या विभाग सदस्य, खोटाङ जिल्ला कमिटी सदस्य र कोशी प्रदेश कमिटी सदस्य हुँदै हाल नेकपा एमाले कोशी प्रदेश कमिटीका उपसचिवका रूपमा रहेर उनी राजनीतिक चेतना विस्तार, संगठन सुदृढीकरण र जनसेवामुखी राजनीतिमा क्रियाशील छन् । “राजनीतिमार्फत समाजसेवामा समर्पित” भन्ने उनको जीवनमन्त्र व्यवहारमै देखिन्छ ।
समाजका विविध क्षेत्रमा उनले दिएका योगदानको कदरस्वरूप विभिन्न संघसंस्थाले उनलाई सम्मान गरेका छन् । शान्ति विकास अभियान नेपाल (२०५८), विश्व हिन्दु नारी जागरण समिति (२०५९) र दीपमणि बाल संरक्षण गृह (२०६३) बाट प्राप्त सम्मान तथा अभिनन्दनले उनको सामाजिक प्रतिबद्धता, समर्पण र योगदानलाई प्रमाणित गर्छ ।
भाषिक रूपमा नेपाली, हिन्दी, अंग्रेजी र मातृभाषा राई चाम्लिङमा दख्खल राख्ने देवान राईले भारत, बेलायत, फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, इटाली, बेल्जियम, अस्ट्रेलिया, लक्जेम्बर्ग, मरिसस, श्रीलंका, माल्दिप, बंगलादेश, थाइल्याण्ड, मलेशिया, सिंगापुर, हङकङ, मकाउ, दक्षिण कोरिया, चीन, कतार, कुवेत, दुबई र साउदी अरेबसहितका देशहरूको भ्रमण गरेका छन् । यी भ्रमण–अनुभवले उनलाई अन्तर्राष्ट्रिय दृष्टिकोण र व्यावहारिक समझ प्रदान गरेको पाइन्छ ।
समग्रमा, देवान राई सेवा, संगठन र सिद्धान्तको त्रिवेणीमा उभिएको एउटा गर्विलो नाम हो । स्वास्थ्य क्षेत्रको सुधारदेखि सामाजिक न्याय र जिम्मेवार राजनीतिसम्मको उनको यात्रा निकै प्रेरणादायी छ । उनी आज पनि उही सेवाभाव, उही ऊर्जा, उही प्रतिबद्धता र उही समर्पणका साथ समाजको उज्यालो भविष्यका लागि कर्मरत छन् ।