November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथरमा किराँत याक्थुङ चुम्लुङको ३७ औं स्थापना दिवस सम्पन्न

पदम सुखी सम्बाहाम्फे
२०८२ भाद्र १९

915

पाँचथर जिल्लास्थित कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा किराँत याक्थुङ चुम्लुङको ३७ औं स्थापना दिवस कार्यक्रम गत मङ्गलबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीको प्रमुख उपस्थितिमा स्थापना दिवस सम्पन्न गरिएको हो ।

कार्यक्रममा लिम्बु भाषा र लिपि जगेर्ना गर्नुको विकल्प नरहेको बताइएको थियो । लिम्बु समुदाय भित्र अहम मौलाउदै गएकोले आपसी झगडामा फस्दै गएको समाजसेवी खिमसेमी शेर्माले चिन्ता व्यक्त गरेका थिए ।

लिम्बु भाषा लिपि धर्म संस्कारसंस्कृति र पहिचान संरक्षण सम्बद्र्धनका लागि विशुद्ध सस्था किराँत याक्थुङ चुम्लुङलाई आम लिम्बु समुदाय तथा गैरलिम्बु सबैको साथ सहयोग हुनुपर्ने प्रेम सम्बाहाम्फेले बताए ।

Advertisement

सङ्घीय सरकारबाट किराँत याक्थुङ चुम्लुङ्लाई अब छुट्टै बजेट ब्याबस्थापन गरिनु पर्ने पनि सम्बाहाम्फेको भनाइ थियो ।

कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ र ४ का केही विद्यालयमा पठनपाठन गराइरहेका शिक्षकहरुले स्थानीय सरकारद्वारा पाठ्यपुस्तक निर्माण नगरेकोले बिद्यार्थीलाई पढाउन असहज भएको शिक्षिका निरा सम्बाहाम्फेले बताइन् । ‘निम्नतम् तलबमा पढाउनुपर्छ । सेवासुविधा केही छैन । लिम्बु भाषा शिक्षक शिक्षिकालाई उत्साहित बनाउनुको सट्टा हेय दृष्टिले हेरिएकोले स्थानीय सरकारलाई थप ध्यानाकर्षण गराउन किराँत याक्थुङ चुम्लुङ शाखा कुम्मायक गाउकार्य समितिले यथाशीघ्र पहल गर्न आग्रह छ’, उनले भनिन् ।

अर्का बक्ता नरेन्द्र सम्बाहाम्फेले छुट्टै लिम्बुवान प्रान्तको माग गर्ने तर धर्म र लिपी सम्बन्धि सामाजिक संजालमा विवाद गर्नाले समग्र लिम्बुजाति प्रतिको राम्रो सन्देश नफैलिने बताए । सिरिजङ्गा लिपी सम्बन्धि विवादलाई पनि चुम्लुङको केन्द्रीय समितिले सुल्झाउनु पर्ने उनको भनाइ थियो ।

पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि समाजसेवी नागरिकहरूको उपस्थिति रहेकोे सो कार्यक्रम किराँत याक्थुङ चुम्लुङ शाखा कुम्मायक गाउकार्य समितिका अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।