काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव राखेका छन् । बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्ने उनले बताए । राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने उनले बताए ।
उनले नेपालमा ठूलाठूला भ्रष्टाचारका काण्डहरू मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको बताए । उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुटाउन आवश्यक रहेको बताए ।
‘अनुचित कार्य हुँदैन भनेको होइन, रोक्नुपर्छ भनेको पनि होइन, अनुचित कार्यको बारेमा कसले हेर्ने त, त्यसकारणले गर्दा अनुचित कार्य हेर्नका निम्ति कि छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्छ । त्यसमा पनि परिभाषित गर्नुपर्छ । राष्ट्रिय सतर्कता केन्द्रलाई बलियो बनाएर, थप सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेपनि हुन्छ । अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिँदा हुन्छ’, महामन्त्री थापाले भने ।