काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी कर्फ्युलाई आज बिहान ४ घण्टाकालागि स्थगित गरेको छ । हिजो साँझ ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्यु बिहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।
जिल्ला प्रशासनका अनुसार कर्फ्युका कारण आफ्नो गन्तव्यसम्म जान नसेकेका यात्रुलाई सहजता प्रदान गर्न र सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको हो।
बिहान साढे ११ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक डाकिएको र सो बैठकबाट परिस्थितिको मूल्याङ्कन गरी कर्फ्युलाई निरन्तरता दिने नदिनेबारे निर्णय गरिने प्रशासनले जनाएको छ ।
रौतहटको विषयलाई लिई हिजो वीरगन्जमा भएको विरोध जुलुसपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्ने प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।