April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अचेल ‘चासोक्’ बर्षमा एकदिन बिहान आउँछ, बेलुका बिदा हुन्छ: प्रदीप कन्दङ्वा

प्रदीप कन्दङ्वा
२०८० पुष ८

3.3K

चासोक् पूजा आदिम कालदेखि चल्दै आएको याक्थुङ समाजको सामाजिक एकता, प्रकृति र लिम्बू समुदायको सम्बन्धलार्ई अन्तरसम्बन्धित गराउने एक सामाजिक र धार्मिक कार्य हो । यसलाई पर्वको रुपमा मनाउन थालिएको छ । सधैंको बर्षहरूमा झैं यसबर्ष पनि चासोक तङ्नामको रौनक सुरु भएको छ । देश तथा विदेशमा रहेका याक्थुङ संघसंस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरी चासोक मनाउने तयारी गरिरहेको सामाजिक संजालमा देखिन्छ।

चासोक प्रत्येक लिम्बूको घरघरमा गरिने पूजा हो ।
युमा माङलार्ई नचढाई खाएमा अशुभ हुने, गाँड निस्किने, रोगव्याधले सताउने, अनिष्ट हुने जस्ता जनविश्वास रहिआएको छ । माङलाई बिथोल परेमा बालीनाली नसप्रने, देवीदेवताहरु रिसाउने र अर्कोपटक राम्रोसँग बालीनाली नफल्ने भन्ने विश्वास छ । तर, के चासोक् साँच्चै याक्थुङहरूको घरघरमा आइरहेको छ ?

चासोकको उत्पत्तिको बारेमा ठाउँ अनुसार विविध मिथकहरू छन् । याक्थुङ समुदायमा अन्नको विकास वा खेति शुरु गर्ने क्रममा आदिम मानव सिकेरा एक्थुक्नामाले पारामा(वनकोदो), पयामा(कागुन) छरेर खेती गरेको र उक्त धान, कोदो, कागुन पाकेपछि तागेरा निङवाफुमाङ युमामाङलार्ई नचढाइ खाँदा गाँड निस्केको घट्ना मुन्धुममा उल्लेख छ भने भङ्गेरा (माक्चेरापु)ले धानको विउ (गेडा) ल्याएको र सोधुङगेन लेप्मुहाङ्को छोरा पाजाइबा र उसकी श्रीमती लुप्लिना वदङनामाले खेतिपातीको शुरुवात गरेको हुनाले उनीहरुलार्ई अर्पण गरेर मात्र खान हुने अर्को मुन्धुम छ । त्यसैगरी अर्को मिथकमा मुजिङ्ना खेयङ्ना आफू गर्भवती भएपछि तागेरा निङवाभुमाङ युमामाङको उपदेश अनुसार पियामा (कागुन) र हक्चमा अन्नको बिउबिजन ल्याएर खेती गरेको र खेतिमा फलेको पहिलो फललार्ई तागेरा निङवाभुमाङ युमामाङ नचढाई उपभोग गरेकोले अनिष्ट भएको तथा गाँड निस्केकोले चासोकको सुरुवात भएको मुन्धुममा उल्लेख छ ।

Advertisement

मुन्धुमअनुसार प्रथम महिला मानव मुजिङ्ना खेयङ्ना/मुजिङ्ना मुयोङनाका सन्तानले डाँडाकाँडा ढाके । तिनका सन्तानहरुले कन्दमुल तरुल भ्याकुर र सिकारबाट जीवन गुजारा गर्थे । तिनका सन्तान बिस्तार हुँदै जादा कन्दमुल तरुल भ्याकुर र सिकार सकिदै गए र ति भोक भोकै मर्न थाले । आफ्ना सन्तानको यो त्रासद अवस्था देखेर मुजिङ्ना खेयोङनाको मन थामिएन । उनले तागेरा निङवाफुङमाको घोर तपस्या गरिन् । तपस्याबाट खुशी भएका तागेर निुवाफुमाङले मुजिङना खेयोङनालाई अन्नका बिउ कोदो तिते फापर भटमास धान आदीको बिउ दिए । त्यसपश्चात लोकमा अन्नादीको व्याप्ती भयो । अन्न पाके पश्चात तागेर निङवाफुमाङलाई अर्पण गरेर मात्र तिनले अन्न भोग गर्थे ।

जीवन सहज रुपमा चलीरहेको थियो । काल क्रममा तिनले तागेरा निङवाफुमाङलाइ बिर्सिए । फेरी अनिकाल सुरु भयो । अन्नको बिउ हरायो । ति फेरी भोकले मर्न थाले । आफ्नो माइती सावेरा येत्च्छाम्वा जंगलबाट खाली हात फर्किएको देखेर सावेरा इथुक्नामा विरक्तीइन् । विरक्तीएकी सावेरा इथुक्नामा आफै कन्दमुल खोज्न जगंलतिर लागिन्। कन्दमुल खोज्दै जांदा उनले एउटा चराको गुँड भेटाइन् । चराको गुंडमा सात गेडा धानको बियाँ थियो । त्यो लिएर उनी घर फर्किन् । राती सपनामा मुजिङ्ना खेयङ्ना प्रकट भइन् । उनले भनिन्, ‘तागेरा निङवाफुमाङको कृपाले यो धानको बिउ तिमीले पाएको छौ । यसको खेती गरेर उब्जिएको अन्न तागेरा निङवाफुमाङलाइ अर्पण नगरी नखानु ।’ त्यसपछि फेरी जीवन अन्नमय भयो । मानिसहरुले पाकेको अन्नबाली तागेरा निङवाफुमाङलाई अर्पण गरेर मात्र खान थाले । त्यही प्रथा या संस्कालाई याक्थुङ याक्थुङहरूले तकसोक थिसोक भने ।

मुन्धुम श्रुती परम्परामा आधारित जीवन दर्शन भएकोले यो लेखमा उल्लेख पात्र र तिनका भूमिकाहरू केही तलमाथी भएको हुन सक्छन् । तर, आज चासोक तङनामको प्राग ऐतिहासिक मुन्धमको आधार यति नै हो । याक्थुङहरूले अन्न पाकेपछि घरघरमा तकसोक थिसोक गर्थे । तकसोक थिसोकको कुनै निश्चित मिति भने थिएन । आफ्नो सुविधाअनुसार पाकेको अन्न अब उपभोग गर्नुपर्छ भन्ने लागेपछि हरेक परिवार या घरले यो तकसोक थिसोकको अनुष्ठान पुजा आरधाना गर्थे । यो क्रम लगभग मकै पाकेपछि सुरु भएर धान पाकेपछि समाप्त हुन्थ्यो ।

याक्थुङहरू पढ्न, जागीर खान या घरजम गर्न याक्थुम लाजे अर्थात लिम्बुवानबाट अन्यत्र जाने क्रम चल्यो । उनीहरू काठमाडौं पनि आए । २०४६ सालमा प्रजातन्त्रको घोषणा भएसँगै नेपालमा संघसंस्थाको भेलबाढी चल्यो । काठमाडौं बस्ने केही प्रगतीशिल याक्थुङहरू मिलेर किरात याक्थुङ चुम्लुङ स्थापना गरे । त्यसपछि तकसोक थिसोक चासोक तङनाममा परिणत भयो । तकसोक थिसोक चासोक तङनाम भएर घरबाट खुल्ला मैदान सभाहल हुँदै टुडिंखेलमा बसाइ सर्‍यो ।

समयसन्दर्भ बसोबासको स्थिती, परिवारको बनावट, खेतिपातीबाट टाढियाका लिम्बुहरूले जसरी काठमाडौंमा चासोक तङनाम मनाउन थाले, त्यसलाई तत्कालीन समाजले स्वीकार गर्‍यो। चासोक अनुष्ठान पूजा आरधानाबाट पर्व या उत्सवतिर उन्मुख भयो । मौसम या अन्न धानको महत्वलाई ध्यानमा राख्दै चासोक मंसिर पूर्णिमाको दिन मनाउन थालियो । नेपालमा अहिले पनि मंसिर पूर्णिमाको दिन चासोक मनाइन्छ तर विदेशमा मंसिर पूर्णिमाको छेक पारेर छुट्टिको दिन चासोक मनाउने चलन छ । किरात याक्थुङ चुम्लुङले चासोकको आयोजना गर्छ । कुनै सभाहल या खुल्ला मैदानमा भेला भएर याक्थुङले चासोक मनाउछन् । औपचारिक सभाको आयोजना हुन्छ । संस्कृतिका मर्मज्ञहरुबाट चासोकको अर्थ र महत्वबारे मन्तव्य/भाषण आदी गरिन्छ । संस्कृति झल्किने नृत्य, संगीत, भेषभुषा, खानपान आदीको प्रबन्ध हुन्छ । यसरी चासोक बर्षमा एक दिन बिहान आउँछ र बेलुका बिदा हुन्छ । वर्षौंदेखि चासोक यसरी नै आइरहेको छ, गईरहेको छ । चासोक् घरघरमा मानिसको मनमस्तिष्कमा आउँदैन । हर्सोल्लास र उमंग चासोकले ल्याउँदैन । बालबालीका चासोक आउदैछ भनेर खुशी हुँदैनन् । घरका अभिभावकहरू चासोकको तयारी गर्दैनन् । आफन्त कुलकुटुम्ब सम्झिदैनन् । घर छोडेर गएका परदेशीहरुको याद चासोकले दिलाउदैन । परदेशीले घर सम्झीदैन । घरको सजावट या सरसफाई गरिदैन । चासोकको शुभकामना साटासाट गरिदैन । दशैंको बिरोध र बहिस्कार गर्दै दशै मान्न नछाड्ने याक्थुङहरूले चासोकलाई अपनाउन र आत्मासात गर्न सकेनन् । सांस्कृतिक दरिद्राइँको उत्कर्ष हो यो ।

कारणवश चुम्लुङले चासोकको आयोजना नगरे आजको आजै हामी चाडवीहिन हुने अवस्थामा छौं । जस्तो कोरोना कालमा हामीले चासोक मनाएनौं, तर दशैं चाही मनायौं । किनभने दर्शै मान्नको लागी कुनै सभाहल या खुल्ला मैदानको आवश्यकता पर्दैन । सयौं, हजारौंको संख्यामा मानिसहरू एकठाउँमा भेला हुनुपर्दैन । कुनै संस्थाले दशैं आयोजना गर्नु पर्दैन । स्वतस्फूर्त रुपमा आउँछ दशै । स्वतस्फूर्त रुपमा मनाइन्छ दशैं । चासोक चाहीँ किन आयोजना गर्नुपर्ने ?