विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित ‘एक दिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी-२०८०’ सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना-२०८० को लक्ष्य अनुसार आज भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिकरुपमा समुद्घाटन गरेका हुन्।
अपराध अनुसन्धानमा बढेको चुनौतिहरू र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँनयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साइबर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरू बीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सवल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र वस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरू तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गरेका थिए । उक्त गोष्ठीमा जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको अनुसन्धान कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानूनी परिधिभित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिए।
गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक राजन अधिकारी, नेपाल प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम, नेपाल प्रहरी प्रधान कार्यालय साईवर ब्युरोका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले अपराध अनुसन्धानका विषयमा बुदागत प्रस्तुतिकरण गरेका थिए भने कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरू र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गरेका थिए ।
यसैगरी अपराध अनुसन्धानको प्रभावकारिता, कानून कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय विषयमा जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुभास कुमार भट्टराई, उच्च सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता नारायण बहादुर थापाले आ-आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरू लगायत गोष्ठीमा सहभागी सम्पुर्ण प्रहरी अधिकृतहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव लगायत प्रहरी अधिकृतहरुका साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।