पाँचथर । गाउँगाउँमा संचालित डेरी बन्द हुन थालेपछि किसानहरू निराश बनेका छन् । सङ्कलित दुधबाट बनेका छुर्पी, पनिर र घ्यू निर्यात हुन नसकेपछि पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ निगालेमा संचालित डेरी बन्द हुँदा आजभोलि त्यस भेकका एकसय भन्दा बढी किसान प्रभावित बनेका हुन् ।
२ बर्षदेखि सन्चालनमा रहेको उक्त डेरीमा नियमित २ सय लिटर गाई र भैंसीको दुध विभिन्न टोल र क्षेत्रका किसानका घरबाट जम्मा हुने गरेको डेरी संचालक दिपेन्द्र भण्डारी बताउछन् । स्थानीय क्षेत्रको आहाले, लोरिपा , सङमासे र रानिगाउँका किसानले दुध बेचेर घरको गर्जो टार्ने गरेका थिए । करिब ९५ रुपैयाँँ लिटर बराबर मूल्य सम्ममा दैनिक ८ लिटर दुध बेचेर छोराछोरीको स्कुल खर्च तथा घर खर्च टार्दै आएका उनीहरूका लागि अब समस्या परेको लोरिपाका कुमारी खड्का बताउछिन् ।
घरमा आम्दानीको श्रोत ओलन भएको तर बिक्रीका लागि उचित बजार व्यवस्थापन नपाएपछि घाटा बेहोर्नु परेको अर्का किसान हेमन्त बोहोराले बताए । मासिक १५ हजार रुपैयाँ भन्दा बढीको ओलन बेचेर मनग्गे आम्दानी बटुलिरहेको बेलामा डेरी बन्द भइ श्रम र ओलन खेर जाने भयो भन्दै सङमासेका रामकुमारी सम्बाहाम्फे दुखेसो पोख्छिन् ।
यसैगरी पेसागत रूपमा आहाले तथा विभिन्न स्थानदेखि ढाकरमा बोकेर दूध संकलन गरि डेरीसम्म ल्याईपुर्याउन मद्दत गर्ने सक्रिय व्यवसायी टठबहादुर कार्कीको रोजिरोटी पनि बन्द हुँदा उनी ‘रुनु न हाँस्नु’ भएका छन् ।
कुम्मायक गाउँपालिकामा संचालित अधिकांश डेरिहरू हाल बन्द भएपछि गाईभैंसी पालेर आम्दानी बढाइ केही गर्छु भन्ने आशा हराएको स्थानीय समाजसेवी बिमल पौडेल बताउछन् ।
उद्यमशील युवा पदम सम्बाहाम्फे भन्छन्, “खेतीपाती गर्यो बादर, मृग र दुम्सिले बाली बिनाश गरिदिने पिरोलो । हामी किसानको अर्कै पिडा छ । घरको गर्जो टार्न सकिदैन । प्रत्येक घरपरिवारको आर्थिक स्तर उन्नति गर्नमा सहयोग पुग्छ भन्दै मिथ्या प्रलोभन देखाई ‘सहारा लघु बित्तीय संस्था’ जस्ता अन्य लघु बित्तीय संघसस्थाले समेत अहिले गाउँगाउमा पाँचजना महिलाको समूह बनाई अप्रत्यक्ष रूपमा आर्थिक शोषण गर्ने समस्याले जनजीवन झनै प्रभावित हुँदै गएको छ । ‘गाईभैंसी पालन’ शीर्षक राखेर ऋण प्रवाह गरि अर्को महिना नबित्दै उनीहरुले ऋणको ३६ प्रतिशतभन्दा बढी चर्को ब्याज असुलेर किस्ता तिर्न बाध्य तुल्याउछन् । गाईभैंसीले एकमहिना मै ऋणि किसानलाई आम्दानी दिदैन । ग्रामीण स्तरका किसानको मर्म बिपरित व्यवहारले म आजित भएँ ।”
यस्ता समस्यालाई तुरुन्तै हल गर्नुको निमित्त सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी संघसंस्था तथा कुम्मायक गाउँपालिकाका चेतनशील नागरिक समाज र उद्यमशील किसानले यश तड्कारो समस्याबारे सम्बन्धित निकायलाई तत्काल ध्यानाकर्षण गराउनुको विकल्प नरहेको पनि सम्बाहाम्फेको भनाइ छ ।