March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

परियार भन्छन्- “ज्ञान, सिप र प्रविधि भए विश्व बजारमा भोको र नांगो भइन्नँ”

लेखनाथ सिकारू
२०८० मंसिर ५

1.6K

काठमाडौ । चन्द्रपुर नगरपालिका वडा नं. ४ रौतहटका एल वि (लिलबहादुर) परियार यतिखेर काठमाडौंमा गार्मेन्ट उद्योग संचालन गर्छन् । २०७४ सालमा एसएस सीलाई केन्द्र स्थापना गरी विगत २० वर्ष यता आफूले चलाउँदै आएको आफ्नो पेशालाई संस्थागत गरेका उनले त्यही पेशालाई आफ्नो र परिवारको भाग्य र भविष्य ठानेका छन् ।

रेडियो पत्रकारितासँगै विभिन्न सामाजिक संघसंस्थाका कामलाई चटक्कै छोडेर करिब १० लाखको लगानीमा सुरु गरेको गार्मेन्ट उद्योग अहिले उनको परिवारको जीविकोपार्जनको मुख्य माध्यम मात्र नबनेर दशजना बढी कामदारहरुको रोजिरोटीको राम्रो केन्द्र पनि बनेको छ ।
उद्योगमा लगानी गरेको २० लाख बढीको सम्पतिका मालिक परीयार यतिखेर वर्षमा ५० लाख बढीको कारोवार गर्छन् ।

प्रविधिको विकाससँगै सिलाई कटाई क्षेत्रमा कन्साई,फ्याटलक, पाईपकटर जस्ता आधुनिक सामानले जनशक्ति कटौतिमा मद्यत गर्नुका साथै गुणस्तरीय सामाग्रीहरु छिटो र भरपर्दो ढंगबाट उत्पादन गर्नसमेत सहयोग गरेको उनको तर्क छ ।

Advertisement

नेपाली बजारसहित विश्व बजारसँग उच्च प्रतिस्पर्धा गर्नुपर्ने वर्तमान सन्दर्भमा पेशा प्रतिको निरन्तरता इमान्दारीता र लगनशिलता मुख्य कुरा भएको परियारको ठम्याई छ ।
विश्वमै टेक्सटायल (गार्मेन्ट) उद्योगको राम्रो सम्भावना देखेका परियार ज्ञान, सिप र प्रविधि भए विश्व बजारमा भोको र नांगो नहुने बताउँछन् ।

कुनै पनि पेशाव्यवसाय गर्नुपूर्व त्यस क्षेत्रको आधारभूत ज्ञान र सिप र प्रविधिको बारेमा जानकारी राख्न सके, बजारको ज्ञान बुुझ्न सकेको खण्डमा पेशा र व्यवसायमा भैपरि आउने चुनौति सामना गर्न सकिने बुुझाई राखेका परियार लहैलहैमा लागेर गरेका कुनै पनि कामले दिगोपन नपाउने बताउँछन् ।
जहीले पनि बजारलाई दक्ष जनशक्तिको अभाव खड्किने औंल्याउँदै परियार आफ्नै उद्योगबाट दैनिक १५ सयदेखि २५ सयसम्म कामदारले लिने गरेको बताउँछन् ।

डिजाईन र कटिङ मास्टरले सिलाई उद्योगमा मासिक एक लाख बढी पारिश्रमिक लिन सक्ने भन्दै उनी सरकारले नेपाली घरेलु तथा कुटीर उद्योगहरुलाई लगानीमैत्री बातावरण बनाईदिनुपर्ने धारणा राख्छन् । त्यसैगरी उत्पादित सामाग्री विश्व बजारमा निर्यात गर्न साथै कच्चा पदार्थ आयातमा अनुदानका साथै सहयोगको बातावरण बन्ने हो भने नेपालमै ठूलो जनशक्ति परिचालन हुने उनको बुुझाई छ । टेक्सायल क्षेत्रको विस्तारसँगै विदेश पलायन हुने ठूलो जनशक्ति स्वदेशमै काम पाउने साथै आयआर्जनको राम्रो माध्यम बन्ने उनको बुझाई छ ।

आफ्नो सिलाई केन्द्रलाई तालिम केन्द्रको रुपमा विकास गर्दै आगामी वर्षबाट २० जना बढीलाई रोजगार सृजना गर्न साथै एक करोड बढीको कारोबारको लक्ष राखेका परियार सरकारी तथा गैरसरकारी क्षेत्र र संघ संस्थाहरुसँग समेत साझेदारी गर्दै स्थानीय उद्योगहरुलाई व्यवस्थित गर्नुपर्ने र पूँजी पलायनलाई रोक्नुपर्ने परियार बताउँछन् ।

काठमाडौंको कोटेश्वरमा महँगो घरभाडा तिरेर उद्योग सँचालन गरेका उनले बालबच्चाको पढाई लसँगै परिवारको भैपरिआउने खर्च व्यवस्थापन गर्दैै परियारले आफ्नो पेशालाई आम्दानीको मुख्य श्रोतको रुपमा विकास गरेका छन् । उनीसँगै उद्योगमा १० जना जनशक्तिको रोजिरोटीको माध्यम पनि सिलाई उद्योग नै बनेको छ ।

सिलाई कटाई व्यवसायमा उच्च र अस्वस्थ्य प्रतिस्पर्धा छ , बजार मन्दिको प्रत्यक्ष र परोक्ष असर व्यवसायमा परेको छ । कमसल र सस्ता सामाग्रीले बजारमा प्रतिस्पर्धा गर्न मुस्किल परेको छ । तर, पनि दिगो भरपर्दो र गुणस्तर भने आफूहरुले चलाएका टेक्सटायल उद्योगबाटै हुने उनकोे बुझाई छ ।
विदेश गएर पराईको गुलामी गर्नुभन्दा घर परिवारसँग रमाउँदै सकेजति सामाजिक कामसमेत गर्दै व्यवसायमा जमेका परियार आफ्नै देशमा श्रम, सिप र उद्योग गर्नुपर्ने, जसले घरपरिवार, समाज र सिंगो राज्यलाईसमेत सहयोग पुग्ने विचार उनको छ ।