काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा नेपालको जलविद्युत विकासको लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएको बताए । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आउँदो १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी भएको पनि बताए ।
आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँगको दीर्घकालीन उर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षरपनि भइसकेको छ । सम्झौतामा अन्तिम हस्ताक्षर छिट्टै हुने विश्वास छ । देशमा हाल वर्षायाममा विद्युत उत्पादन क्षमता २८ सय मेगावाट रहेको छ । अधिकतम खपत करिब १९ सय मेगावाट पिक डिमाण्ड रहेको छ । आन्तरिक खपतभन्दा बढी भएको उर्जा खेर जान नदिनेगरी छिमेकी भारतमा विद्युत निर्यात भइरहेको छ । यसबाट देशको व्यापार घाटा न्यूनीकरण गर्न समेत महत्वपूर्ण योगदान पुगिरहेको छ ।’
देशभित्र नै आन्तरिक बिद्युत खपत गर्न सरकारले उर्जा खपत सम्बन्धी कार्ययोजना ल्याइसकेको बताउदै उनले देशमा जलबिद्युत उत्पादनको व्यापक सम्भावना रहेको र देशले समृद्धि हासिल गर्नका लागि उर्जा व्यापार नै महत्वपूर्ण स्रोतको रुपमा रहेको बताए ।
यसैगरी, सरकारी काम कारबाहीहरु म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको प्रधानमन्त्री प्रचण्डले बताए। सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
प्रश्नोत्तरकै क्रममा प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०-८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताए। उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए भने राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।