April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

देश विकासमा युवा शक्ति अपरिहार्य छ: अध्यक्ष नेपाल 

2.1K

काठमाडौं । प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा फुटसल फाइभ समूह प्रथम भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौंको मनमैजुस्थित मैदानमा भएको प्रतियोगितामा रोयन एफसी समूह दोस्रो र कुर्दन एफसी समूह तेस्रो भएका छन् ।

पहिलो दोस्रो र तेस्रो समूहले क्रमशः तीन लाख, रु दुई लाख र एक लाखसहित शिल्ड, ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदान गरे ।   जेठ ३ गतेदेखि ८ गते सम्म भएको प्रतियोगितामा ८० टिमको सहभागिता रहेको भए पनि ५८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेकपा एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खेलकुदका माध्यमबाट देशको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसका लागि युवा वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
 
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा पनि युवालाई अगाडि बढाउने नीति आफ्नो पार्टीले अवलम्बन गरेको बताए । उनले यस खाले अतिरिक्त क्रियाकलापले युवाहरूमा जोस जागर थपिनुका साथै उर्जा प्रदान भएको भन्दै देश विकासमा  युवा शक्ति अपरिहार्य रहेको बताए ।  

Advertisement

पार्टीका गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं सांसद  राजिव (दिपक मनाङ्गे) गुरुङले देशमा छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी कम्युनिष्ट सिद्धान्तलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारी र कुशल सङ्गठनको स्मृतिमा गरिएको प्रतियोगितालाई सबै जिल्लामा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य एवं युवा सङ्घ इन्चार्ज दिलु पन्तले नेपाली राजनीतिमा देखापरेको भ्रष्टाचार, अपराधिकरण लगायत विकृति अन्त्यका लागि युवाशक्ति आदर्श र निष्ठापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए।    

पिपुल्स भोलेन्टियर प्रमुख  शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कार्यक्रममा  होम बुढाथोकी,  हस्त शाही,  चुनु केसी,  एलपी श्रेष्ठ,  रमेश बाबु श्रेष्ठ, युवा संघ उपाध्यक्ष नितेश पौडेल, युवा संघका नेताहरू फुर्वा तामाङ, तिर्थलाल श्रेष्ठ, रोसन थापा,  समीप त्रिपाठी, लगायतको उपस्थित थियो ।