April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हल्लै हल्लाको देश

राजेन्द्र कुँवर
२०८० बैशाख २४

4.1K

यो हल्लैहल्लाको देश हो । एकपटक फेरि नेपाली सामाजिक संजालको बजारमा नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर करोडौं पैसाको अपचलन भएको हल्ला अहिले निकै जोडतोडले चलेको छ । पछिल्लो समयमा चलेको हल्लाकाअनुसार पूर्व उपप्रधानमन्त्री, पूर्व गृह सचीव, पूर्व गृहमन्त्रीका छोरा, पूर्व उर्जा मन्त्रीका छोरा बाहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको संलग्नता देखिन्छ भनेर प्रहरीले पक्राउ पुर्जी जारी गरेर कतिपयलाई समातेर अनुसन्धान थालिएको छ ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुटवल, भैरहवा र काठमाडौबाट प्रहरीले समातेको हल्ला सेलाउन नपाउदै अर्घाखाँचीबाट फरार भनेर हल्ला आउँछ अनि उनले प्रयोग गरेको फोन पनि अफ छ भन्छन् । भैरहवादेखि काठमाडौका लागि हवाइजहाजको टिकट लिएको एकै छिनमा फिर्ता गरेको अनेकौं थरी हल्ला आउने गर्छ तर सत्य के हो कोही बताउन सकिरहेका छैनन् ।

‘लहरो तान्दा पहरो आउँछ’ भने झैं तत्कालीन प्रधानमन्त्री केपी ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने हल्लासँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापादेखि बालकृष्ण खाँणसम्मको अनुसन्धान गर्दा संलग्नता देखिन सक्छ भन्नेहरूको पनि कमि छैन । त्यस विषयमा निकै हल्ला चलिरहेको छ । यसको बास्तविकता के हो ? त्यो घटनाक्रमले पुष्टि हुने छ । तत्कालीन गृहमन्त्री र उपप्रधानमन्त्री, मन्त्रीका छोरालाई पक्राउ पुर्जी जारी गरेर गिरफ्तार गरी अनुसन्धान गर्नुलाइ उनीहरुको संलग्नतामा शंका गर्ने प्रसस्त ठाँउ रहेको छ ।

Advertisement

टोपबहादुर रायमाझीलाई जोगाउन एमाले अध्यक्ष केपी ओली र बालकृष्ण खाँणका लागि काँग्रेश सभापति ज्यान छोडेर लागेको हल्लाले पनि निकै चर्चा पाएको छ ।

यसै विषयलाई लिएर प्रमुख विपक्ष दलका नेता केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक्लाएक्लै बैठक बसेका छन् । उनीहरुको उठबस हुनु कुनै नौलो कुरा होइन, राज्य संचालनका बारेमा जिम्मेवार नेताको बैठक हुनु असाध्यै राम्रो कुरा हो । तर, बजारमा नेकपा एमालेका सचीव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जोगाउन केन्द्रित भयो भनेर हल्ला आइरहेको छ ।

अहिले नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई ढाकछोप गर्न अहिले एकथरीका मानिसहरू बालुवाटारको ललिता निवासको जग्गा बिक्रीवितरण र पूर्व माओवादी लडाकुलाई वितरण गरेको पैसा हिनामिना भयो भनेर हल्ला चलाउने कामले पनि निकै तिब्रता पाएको छ ।

आम नेपाली सचेत नागरिकले भने एन्सेलको कर छली काण्ड, ओम्नी काण्ड, ७० करोडको टेप काण्ड, ह्वाइट बडी काण्ड, ३३ किलो सुन काण्ड, बतास समूहको नाममा भएका सबै काण्डको सत्य तथ्य छानबिन गरेर कुनै पनि निर्दोष व्यक्ती नफसेर दोषीले सजाय भोगेको हेर्न पनि उत्साहित छन् । तर, माथी उल्लेख गरिएका काण्डमा कुनै पनि व्यक्तीले दोषी ठहर भई सजाय पाएका छैनन्, हल्लामा मात्रै सिमित भएको छ ।

अहिलेको नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लगाएतका देशमा पठाउनका लागि रचिएको प्रपञ्च पनि हल्लामा सिमित हुने कुरामा थुप्रै आशंका उब्जिएको छ । राज्य संचालनको प्रमुख बागडोर समालेका मान्छेहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिने काम गर्नु हुँदैन भनेर चर्को दबाब रहेको छ । यसमा कुनै पनि हालतमा सरकार कम्जोर हुनुहुँदैन । सरकारले यस्तो जघन्य अपराध गर्ने जो कसैलाई पनि उन्मुक्ति दिन खोज्यो भने सरकार आफै राज्यविरुद्धको अपराधमा अग्रसर भएको ठहर गर्ने मत पनि निकै बलियो छ ।

राज्य संचालनमा सहभागी भएका प्रमुख व्यक्तिको यस्तो कार्यमा संलग्नता देखिनु भनेकै राज्यविरुद्धको अपराधको रूपमा लिने गरिए पनि दोषीले सजाय पाउनु भनेको ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन सक्छ भनेर अड्कल गर्नेहरुको पनि कमि छैन । लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि जघन्य अपराध गर्नेहरुलाई आमनागरिकले देखिने र सुनिने गरी सजाय पाएको पाइदैन अनेकौं प्रकारको हल्ला भने गरेकै छ ।

बलात्कारपछि हत्या गरिएका बालिकाको हल्ला गरे पनि उनीहरुका आफन्तले न्याय पाएका छैनन् । राज्यद्धारा अपराध गरिएको धेरैको हल्ला गरियो तर उनीहरुले सजाय पाएका छैनन् । आम नागरिकले यो हल्लै हल्लाको देशमा कसरी विश्वास गर्ने ?

एउटा चेलीको बलात्कारपछि हत्या गरिन्छ, दोषीलाई अनुसन्धान गरेर कारवाही गरिदैन । अर्को चेलीको एसिड छर्केर जलाइन्छ, त्यस्तो अपराधीलाई छोडिन्छ, तर पनि सरकार अनि सरकार संचालन गर्ने पार्टी र कार्यकर्ताहरुले हल्ला मात्रै गर्छन्अ । सचेत नागरिकले भन्ने गर्छन्, ‘न्याय मारेर हल्ला गर्नेहरूको देश ।’

लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली आमनागरिकको पवित्र चाहना थियोे । शोषण, दमन, अन्याय, अत्याचारको समुलनष्ट भएर जनचाहना अनुसारको राज्यका सबै निकाय परिचालित भएर सुशासन कायम हुन्छ । हल्ला हुदैन काम हुन्छ, तर अहिलेसम्म त्यसो हुन सकिरहेको छैन । भौगोलिक पुर्वाधारको क्षेत्रमा हल्ला भयो, काम भएन । सुशासनको क्षेत्रमा हल्ला भयो काम भएन । ‘जघन्य अपराध, हत्या, बलात्कार गर्नेहरुलाई सजाय गर्छु’ भन्ने हल्ला गरे पनि कार्यवाही भएन । भ्रष्टाचारको अभियोग लागेका र विभिन्न ठगीको अभियोग लागेकालाई संरक्षण गर्ने काम भएपछि ‘नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउछु’ भन्ने गिरोहका तलदेखि माथीसम्मका नाइकेलाई सजाय दिने हल्ला गरे पनि उन्मुक्ति दिने बारेमा छलफल संवाद गरेको आभास भैरहेको छ । यो घटना पनि ‘हात्ती आयो फुस्सा’ हुन सक्छ । अनि तपाईं हामीले इतिहासमा हाम्रो गौरव गाथाले भरिपूर्ण इतिहास बोकेको पार्टी अनि त्यसका नेता कार्यकर्तालाई टुलुटुलु मानेर हल्लैहल्लाको देशको निरह नागरिक बनिरहनुपर्ने तपाईं हामी एकपटक सचेत भएर सोचौं नेपाललाई हल्लैहल्लाको देशबाट मुक्त गरौं ।