काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल दोस्रो पटक रोकिएको हो ।
यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो ।
युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए । लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे ।
नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए ।
त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन् ।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए । वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे ।
यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए । वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे । रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गरे ।
नेपालका लागि ललितले तीन विकेट लिएका छन् । सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिइसकेका छन् ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।