काठमाडौं । एसीसी प्रिमियर कपको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भएको छ । समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुगेको छ ।
समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले समूह ‘बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ । समूह ‘बी’ को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ । सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ । कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो ।
नेपालको जितमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरे । बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे । सन्दीपले ९.१ ओभरमा ५ विकेट लिँदा ३ मेडन राखे भने १४ रन मात्र खर्चिए । यस्तै, पालका लागि सोमपाल कामीले तीन विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो । नेपालका लागि सन्दीपले सबैभन्दा बढी नटआउट ४२ रन जोडे । उनले ५८ बलमा ६ चौका प्रहार गरे ।
यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो । रद्द भएर एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेको थियो ।