काठमाडौं । आजदेखि सुरु हुने एसीसी प्रिमियर कपको उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्दैछ । एसिया कप छनोटको आधारको रुपमा रहेको यस खेलमा समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ । यसै खेलबाट मूलपानी मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेल हुनेछ ।
प्रिमियर कपका लागि नेपाली टिमलाई मुख्य प्रशिक्षक मोन्टी देसाईले तयार पारेका छन् । अघिल्लो महिना घरेलु मैदान क्रिकेट विश्वकप लिग टु खेलेकै टिमलाई उनले निरन्तरता दिएका छन् । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोली तयार छ ।