काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन प्रक्रिया शुरु गरिएको छ । बुधबार एक समारोहबीच विधिवत रुपमा काम अघि बढाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात गरेका हुन् । इजरायलमा रहेकी मन्जु थपलिया वैदेशिक रोजगारदाताको रुपमा कोषमा आबद्ध हुने पहिलो भएकी छिन्।
वैदेशिक रोजगारीमा गएका ४० लाख नेपालीहरुलाई कोषमा ल्याउने योजना रहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए। श्रमिकले मासिक २ हजार २ रुपैयाँ कोषमा बचत गरे पुग्छ। ७ सय कोषमा हुन्छ। अरु रकम सबै बैंकमा बचत हुन्छ। २०४६ सालदेखि अहिलेसम्म ३० अर्ब रुपैयाँ कोषमा संकलन भइसकेको छ। कोषले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ,’ ज्ञवालीले भने।
७० लाख नेपाली व्यवसाय रहेकोमा १० लाख मात्रै अहिलेसम्म कोषमा आबद्ध भएको तथ्यांक छ। ज्ञवालीले ४ वर्षभित्र सबै वैदेशिक रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लक्ष्य रहेको बताए। यसका लागि कोषले गर्नुपर्ने सबै काम र योजनाहरु तदारुकताका साथ कार्यान्वयन गरिने उनको भनाइ छ।
गन्तव्य मुलुकसँग समेत कुरा गरेर सबै वैदेशिक रोजगारदातालाई कोषमा ल्याउने तयारी सरकारको छ। वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ । वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ ।