April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

किस्ताको जालोमा जेलिएका महिलाहरू र यसले निम्त्याएको दुर्घटना

गंगा खापुङ लिम्बु
२०७९ फाल्गुन २७

2.9K

बुटवल-११, मजुवाकी माया मगर महिनाको १ गतेदेखि १० गतेसम्म किस्तामा व्यस्त हुन्छिन् । कतै बचत, कतै बचत तथा ऋण साथै ब्याजको जोहो गर्नलाई दौडधूप गरिरहन्छिन् । १० गतेपछि तनावबाट मुक्ति पाएको महसुस् गर्छिन् । उनले आफ्नै गाउँ तथा टोलमा दिदीबहिनी भेला भएर खेलिने समूहमा किस्ता खेल्ने गरेकी छन् । यसमा बैंक तथा सहकारीमा जस्तो धितो वा जमानत राख्नुपर्ने झन्झट नहुने उनी बताउछिन् । आपसी समझदारीमा सजिलै ऋण उपलब्ध हुन्छ ।

बुटवलका टोल तथा बस्तीहरूमा विभिन्न समूह बनाएर मासिक शुल्क उठाई ऋण दिने किसिमका किस्ता खेलिने समूहहरू बढ्दो छ । ढुकुटी, आमा समूह, महिला समूह तथा विविध जातीय समाज लगायत थुप्रै समूह गठन गरी बचत संकलन र ऋण लगानी भइरहेको हुन्छ । समूहको लागि अध्यक्ष, कोषाध्यक्ष चुनिरहनु पर्दैन । एकजनाले खाता सम्हाले पुग्छ । ४० देखि १ सय जनासम्मको संख्यामा किस्ता खेलिने समूहमा ऋण लिएपछि प्रत्येक महिना २० प्रतिशतका दरले ब्याज बुझाउनु पर्दछ । ३ महिना पुगेपछि ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ऋण चुक्ता गरेपछि फेरि ऋण लिन पाईन्छ । अवस्था र संकलनका आधारमा एकजना सदस्यले एक लाखभन्दा बढी ऋण लिन सक्छन् । समूह गठन गरेपछि एक वर्षे वा २ बर्षे अवधि राखिन्छ ।

तोकिएको अवधिमा ऋण लिनेहरूले ऋण चुक्ता गर्नुपर्ने हुन्छ । हिसाब गरेर सबैलाई आफ्नो बचत र ब्याजबाट नाफा भएको पैसा भाग लगाईन्छ । मासिक बचत गर्नाले घरखर्च र धेरै कामको गर्जो टार्न सहज हुन सक्छ । विश्वासका आधारमा खेलिएका किस्ता समूहमा जो कोही आबद्ध हुन सक्छन् । कोही कसैको जिम्मेवार हुनपर्दैन ।

Advertisement

महिनाको कुनै बार वा दिन समूह बस्छ । खाता सम्हाल्ने व्यक्तिले बचत र ब्याज दिनुपर्नेहरूको नाम बताउँछन् । उपस्थित जो कोहीले पैसा संकलन गर्न सक्छन् । मासिक बचत र ब्याज उठाएपछि ऋण लानेहरूको नाम लेखिन्छ । ऋण माग गरेका सबैलाई बराबर भाग लगाईन्छ । कसैलाई बढी समस्या परेको खण्डमा सम्झदारीमा बढी ऋण दिन सकिन्छ ।

किस्ता खेलिने समूहका यस्ता किसिमका केहि सकारात्मक पक्षहरु भएतापनि किस्तामा खराब प्रवृत्ति बड्दो छ । यस्ता सर्वप्रथम त यस्ता अनाधिकृत समूहका कारण समूहबाट ऋण लिने व्यक्ति कहिल्यै ऋणमुक्त हुन सक्दैन । महिनै पिच्छे ऋण लिएपछि निश्चित अवधिसम्म आईपुग्दा बचतभन्दा बढी ऋण पुगेको हुन्छ । ऋण तिर्न अर्काे समूहबाट ऋण लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ । एकपछि अर्काे ऋण तिर्नुपर्दा ब्याजको स्याज तिर्नु परिरहेको हुन्छ । घर सल्लाहबिना ऋण निकाल्नेहरूको संख्या धेरै हुन्छन् । ऋण तिर्न नसकेपछि समूहमा ऋणीहरू आउन छाड्छन् । त्यसपछि समूहका सदस्यहरू ऋणीको घरमा जानुपर्ने बाध्यता आउँछ । जसले गर्दा ऋणीको घरबार बिग्रन जान्छ । समूहबाट ऋण लिएर तिर्न नसकेपछि सामाजिक बेईज्जत हुनुको साथै घरबार बिग्रेको उदाहरण थुप्रै छन् ।

केही महिना अघि बुटवल–११, बुद्धनगरकी सुमिना कार्की (परिवर्तित नाम) ले एक महिला समूहबाट ऋण लिएकी थिइन् । उनले तोकिएको अवधिमा ऋण नतिरेपछि महिला समूहले उनकै घरमा ऋण लगेको खबर पु¥याउँदा श्रीमानले थाहा पाएपछि उनलाई बेस्सरी कुटपिट गरे । सोही कारण दुईबीच छोडपत्र हुन पुग्यो । आपसी सम्बन्ध त बिग्रियो नै, पैसा नउठेपछि अन्य सदस्यहरूले घाटा बेहोर्नुपर्याे । आपूुखुशी समझदारीमा खोलिएको समूहबाट ऋण लिएर नतिरेपछि प्रहरीमा उजुरी पनि नलाग्ने गरेको पाइन्छ ।

प्रहरीले यस्तो किसिमको जाहेरी नलिनु स्वभाविक रहेको एक प्रहरी अधिकृत बताउँछन् । ‘यस्तो प्रकृतिको उजुरी लिँदा पनि अन्याय हुन्छ, नलिँदा पनि अन्याय हुन्छ । अन्याय त भएकै हुन्छ, बिनाप्रमाण मौखिक आधारमा जाहेरी दिँदा पुष्टि हुँदैन । पुष्टि नभएपछि पक्राउ गर्न गाह्रो हुन्छ । फेरि गलत पनि भइरहेको हुन्छ ।’, एक प्रहरी अधिकृतले भने ।

त्यस्तै अर्की महिला बिना नेपाली (परिवर्तित नाम) ले समूहबाट ऋण निकालेर तास खेलमा पैसा खर्च गरिन् । आम्दानीको श्रोत नभएपछि उनले ऋण तिर्न सकिनन् । ऋणकता समूहका अनुसार ऋण उठाउन जाँदा– ‘खाएर भागेको छैन, एकदिन त दिईहाल्छु !’ भन्ने प्रतिक्रिया दिने गर्थिन् । ‘अब न उजुरी दिन मिल्छ, न त पिट्न ।’, ऋणकर्ता समूहको गुनासो छ ।

समूहको ऋण तोकिएको अवधिमा जसरी चुक्ता गर्नुपर्ने नत्र समाजमा बेईजत हुने तथा घरबार बिग्रने डरले अन्य धेरैवटा समूहहरूबाट ऋण लिने गर्छन् । ऋण मुक्त हुन बाध्य भएर धेरैवटा समूहमा आबद्ध हुन पुगेका उनीहरु झनै ऋणमाथि ऋणमा डुबिरहेका हुन्छन् ।

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएसँगै विभिन्न किस्ता खेलिने समूहहरू अझ बढ्दै गएको देखिन्छ । सँगसँगै ऋण नतिरेर भाग्नेहरूका कारण समूहका सदस्यहरूले सास्ती भोग्नु परिरहेको पनि देखिन्छ । यस्ता क्रियाकलापहरू न चाहेर सजिलै रोक्न सकिन्छ न त यसको कुनै तत्कालीन समाधान नै छ ।

ढुकुटी लगायत विविध समूहको निर्माण गरी गैरकानुनी रुपमा संचालन गरिएको जोखिमपूर्ण आर्थिक कारोबार हो । यद्यपी किस्ता खेल्ने खेलाडीहरुले लिएको ऋणलाई सही सदुपयोग गर्नु हो भने कम जोखिम हुने सक्ने थियो । किस्ता खेलाउनेहरूले व्यक्तिको विवरण हेरेर समूह निर्माण गर्ने साथै ऋण लैजानेहरूले किन, केका लागि माग गरेका छन् ? बुझेर ऋण प्रवाह गरेमा जोखिम न्यूनिकरण हुन सक्ने थियो कि ! यो खाली विश्वासको कारोबार भएको हुँदा सबै विश्वासयोग्य हुन्छन् भन्ने हुँदैन जसकार कारण कारोबारकै कारण विभिन्न दुर्घटना घट्ने गर्दछ । ढुकुटीकै जालोमा जेलिएर करिब दशक अघि बेपत्ता भएकी काठमाडौंकी ५१ वर्षीया छोरीमैयाँ महर्जन अझैं अज्ञात छिन् । हाइप्रोफाइल व्यापारी दीपक मल्होत्राकी बहिनी तथा नायिका प्रियंका कार्कीकी सानीआमा निकी सिंह जोडिएको यो केसको रहस्य अझैं रहस्यभित्रै छ । ढुकुटी जस्ता विश्वास र धर्मको आधारमा हुने कारोबारका कारण कतिले आत्महत्या पनि गरेका उदाहरणहरु छन् ।

ढुकुटी, किस्ता जस्ता सामुहिक रुपमा गरिने कारोबारलाई सम्बन्धित निकाय अथा नेपाल राष्ट्र बैंकको इजातत लिएर वित्तिय संस्था दर्ता गरी संचालन गर्नुपर्ने एक कानून व्यवसायीको भनाइ छ । इजातन नलिई संचालन गरिने यस्तो कारोबार अवैध ठहर हुने उनी बताउछन् । उनी भन्छन्, ‘यो धार्मिक कुरा हो । यसमा विश्वासकै आधारमा लाखौं करोडौं कारोबार हुन्छ । गाह्रो खाचो टर्नु नराम्रो हैन, ढुकुटी असल नियतले सुरु भएको हो । तर, वित्तिय गतिविधि गर्नको लागि सम्बन्धित निकाय वा राष्ट्र बैंकको इजाजत लिनुपर्छ ।’