April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रासायनिक मल खरिदका लागि अर्थद्वारा थप ७ अर्ब ५० करोडको स्रोत सुनिश्चित

1.4K

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।

स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ । २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ ।

रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।

Advertisement

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेका थिए ।

सो अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अबिलम्ब आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।