April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न नसके मुलुक अगाडि बढ्न सक्दैन: परशुराम खापुङ

2.1K

बिराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले जनताको स्वास्थ्य सेवा सरकारी अस्पतालले मात्र समाधान गर्न नभ्याउने हुँदा व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताए । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको नवौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुखले सो कुरा बताएका हुन् ।

यस्तै, प्रदेश प्रमुखले अस्पताल नाफामुखी होइन, सेवामुखी हुने भएकोले अस्पताललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रमुखले हरेक सभासमारोहमा शिक्षा र स्वास्थ्यको सन्दर्भमा बोल्दै नै आएरहेको बताउँदै भने, ‘राज्यले नि शिक्षा र स्वास्थ्यलाई मौलिकको हकको रुपमा राखेको छ । शिक्षा र स्वास्थ्यमा अगाडि बढ्न सकेनौ भने मुलुक अगाडि बढ्न सक्दैन ।’

Advertisement

छोटो समयमै अरिनको अस्पतालले यस उर्लाबारी क्षेत्रमा राम्रो छाप छोड्न पाएको खबर सुन्न पाउँदा खुशी लागेको पनि प्रदेश प्रमुखले खुशी व्यक्त गरे । जनताको स्वास्थ्यमा सेवामात्र होइन, सानै ठाउँबाट भएपनि स्वास्थ्यसेवाका साथै रोजगारीको क्षेत्रमा यसले टेवा पुर्याएकोले यस अस्पताल धन्यवादको पात्र रहेको उनले बताए ।

नवौं साधारणसभाको अवसर पारेर राधिका माविमा १२ कक्षामा अध्ययनरत सुनिता चेपाङ, ११ मा अध्ययनरत सुमित्रा किस्कु, जालमा मावि पथरीमा कक्षा १० मा अध्ययनरत अर्जुन मगरलाई जनही १० हजारको दरले छात्रवृति प्रदान गरेको थियो । त्यसैगरी कवि मञ्जुल मितेरी, नमूना बालगृहकी सञ्चालिका मिना बराल, पत्रकारहरु सरोज बस्नेत, जगन्नाथ भट्टराई, राजघाट स्वास्थ्यचौकी इन्चार्ज सन्दिप नेयोङ, पूर्व मेयर खड्ग फागोलाई प्रदेश प्रमुखले सम्मान गरेका थिए ।

अस्पतालका सञ्चालक आइन्बा पोमुले ७८ जनाको सक्रियतामा शुरु गरिएको अस्पतालमा देशविदेशमा रहेका युवाहरुको लगानी रहेको बताए ।

कार्यक्रममा सम्पूर्ण दलहरुको तर्फबाट निरुपा निरौला, पूर्व मेयर खड्ग फागो, मेयर गंगा खरेल, प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले पनि मन्तव्य राखेका थिए ।