काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई शनिबा। बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ ।
यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए । त्यस्तै कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा न ५ पुरुशोत्तमपुरमा शङ्कास्पद बस्तु फेला परेको छ ।
निर्वाचन बिथोल्नका लागि कसैले विस्फोटक पदार्थ राखेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । नेपाली सेनाको डिस्पोजल टिमले शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।
उता प्रदेश नम्बर एकको राजधानी विराटनगर महानगरपालिका ३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा शनिबार बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।