April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विश्वभर गरिन्छ दिपावलीः कुन देशमा कस्तो छ चलन ?

२०७९ कार्तिक १०

2.3K

काठमाडौं । तिहार हिन्दुहरुको दोस्रो महान चाड हो । यसलाई उज्यालो पर्वका रुपमा लिइन्छ । यमपञ्चकका पाँच दिन मध्ये दिपावली र लक्ष्मीपुजाका दिन विशेष उल्लास छाउँछ । गोबद्र्धन पूजा र भाइटीका हिन्दुहरुका लागि झनै विशेष मानिन्छ । तिहार शरद ऋतुमा पर्ने भएकाले मौसम पनि घमाइलो हुन्छ । रंग, फूलमाला, मिठाई, उज्यालो र विभिन्न पूजाआजा गर्दै तिहारलाई रमझमका साथ मनाइन्छ ।

नेपालमा बसोबास गर्ने हिन्दुहरुमा तिहारको जति महत्व छ विश्वभर छरिएर रहेका हिन्दु धर्मावालम्बी साथै गैरहिन्दुहरुले पनि उज्यालो पर्व तिहार र दिपावलीलाई धुमधामका साथ मनाउने गर्छन ।

विदेशमा रहेका नेपालीहरुमात्र नभई भारत, बंगलादेश, बर्मा, बेलायत, अमेरिका, चीन, मलेसिया, कोरियालगायतका देशहरुमा हिन्दु र गैरहिन्दुहरुले दिपावलीलाई विशेष महत्व दिएर मनाउने गर्छन् । यद्यपी, दिपावली मनाउने तौरतरिका भने भिन्न छन् । कतिपय देशमा कुल देवतालाई पुजा गरी नयाँ बर्षको स्वागत स्वरुप दिपावली गर्ने चलन छ ।

Advertisement

एसिया, युरोप, अफ्रिकाका कतिपय मुलुकहरुमा दिपावलीको विशेष महत्व छ । ति देशहरुमा स्थानीय धर्म, संस्कृती र संस्कार अनुसार दिपावली गर्ने चलन छ । हिन्दु, बौद्ध, जैन, शिख, तमिलहरुले दिपावली उत्साहका साथ मनाउँछन् । कतिपय मुलुकमा सूर्यको आरधना गर्दै दिपावली गर्ने गरिन्छ । विश्वका विभिन्न देशमा रहेका भारतीय र नेपाली मूलका नागरिकले मात्रै होइन विश्वभरी छरिएर रहेका आप्रवासी हिन्दुहरुका कारणले पनि दिपावलीको प्रभाव संसारभरी पर्ने गरेको छ ।

कतिपय देशमा त दिपावलीमा सार्बजनिक विदा नै दिने गरिएको छ । भारतका विभिन्न शहरहरुमा लक्ष्मीलाई पुजा आरधना गरी उल्लासपूर्वक दिपावली गरिन्छ । अन्तराष्ट्रिय संचारमाध्यमका आधारमा केही मुलकमा आयोजना हुने दिपावलीका बारेमा यहाँ चर्चा गरिएको छ ।
भारत
तिहारका अवसरमा गरिने दिपावलीलाई भारतमा चल्तीको भाषामा दिवाली भनिन्छ । यस अवसरमा भारतमा विभिन्न ठाउँहरुमा मेला लाग्छ । बजार तथा ठूला शहरहरुमा आतेजबाजी गरिन्छ । दिपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ । धनतेरसका दिन भाँडाहरु किन्नु अति शुभ मानिन्छ ।

दिपावलीका बेला पकवाना लगायतका मिठाईका परिकारहरु बनाइन्छ । गणेश र लक्ष्मीको धुमधाम मुर्ति पूजा गरिन्छ । मानिसहरु आफन्त, साथी–भाइका घर गएर मिठाई र उपाहार बांडछन । दियो–बत्ती, आतेसबासी, झिरझिरे पटकाले गर्दा भारतका गाउँशहर औशीको रातमा उज्यालो हुन्छ । विशेष गरी धनकी देवी लक्ष्मीलाई धुमधाम पुजा गर्ने चलन छ । पवित्रताको प्रतिक रंगोली कोरेर र बत्ती बालेर घर उज्यालो बनाइन्छ । लक्ष्मीपूजाका दिन बनाइने रंगोलीले घरमा सुख–शान्ति तथा समृद्धि भित्राउने विश्वास गरिन्छ ।
चीन
बौद्ध, ताउ, कन्फुसीयस धर्मको बाहुल्यता रहेको चीनमा हिन्दुहरुको पनि राम्रै प्रभाव छ । चीनमा दीपावलीलाई ‘नेइ महुआ’ भनिन्छ । त्यहाँ बसोबास गर्ने हिन्दुहरुले आफ्नै तरिकाले तिहार मनाउछन र दिपावली गर्छन । गैर हिन्दुहरुले भने दीपावलीको दोस्रो दिनदेखि चीनमा नयाँ संवत सुरु हुने भएकाले अलिक भिन्न रुपले दिपावली गर्ने गर्छन । त्यहाँ दिपावलीलाई प्रकाश पर्वका रुपमा पनि लिइन्छ ।

ब्यापारीहरुले हिसाबकिताबको नयाँ खाता खोल्ने र धुमधामले प्रकाश पर्व मनाउने गर्छन । झिलीमिली बत्ती बालेर आतसबाजी गर्छन । घरको मूल ढोकाका दुवैतर्प मानव आकृतिका कागज टाँस्छन् । रंगीविरंगी प्रकाश छर्ने लालटिन बनाएर राख्छन र मिठा मिठा परिकार बनाएर दिपावली उत्सव गर्छन् ।
जर्मनी
क्रिश्चियन धर्मावलम्बीहरुको वाहुल्यता रहेको जर्मनीमा पनि दीपावाली गर्ने चलन छ । त्यहाँ दीपावलीलाई स्वास्थ्य पर्वको रुपमा मनाइन्छ । एक अर्काको सु–स्वास्थ्य र दिर्घायुको कामना गर्ने र गिर्जाघरहरु झिलीमिली पारेर सजाइन्छ । ऋतु पविर्तनबाट हुने रोगबाट छुटकारा पाउन धुमधामका साथ आतसबाजी गर्ने र दिपावली गर्ने परम्परा छ ।
मलेसिया
खराबका विरुद्ध राम्रोको विजयी भएको उपलक्ष्यमा मलेसियामा दिपावली गर्ने चलन छ । ‘हरि दिपावली’ भनिने यो उत्सवमा रावणविरुद्ध रामले विजयी प्राप्त गरेको मानिन्छ । करिब ८ प्रतिशत हिन्दुहरुको बसोबास रहेको मलेसियामा फूल र तेलको दियोले घर सिंगारिन्छ । तिहार वा दिपावलीका बेला यहाँ रमाइलो मेला, सांगीतिक कार्यक्रम, आकर्षक खेलहरुको आयोजना गरिन्छ ।
म्यानमार र थाइल्याण्ड
म्यानमारमा गौतम बुद्ध अवतरण भएको अवसर पारेर दीपावली र आतसबाजी गर्ने चलन छ । यस दिन बौद्ध मठमा गएर पूजाअर्चना गर्ने, आ–आफ्ना घरमा रंगीविरंगी प्रकाश बालेर सजाउने र खुसियाली मनाउने गरिन्छ । थाइल्याण्डमा भने अनिश्चितताबीच जीवनलाई निरन्तरता दिने विश्वासका साथ केराले बनेको दियोमा मैनबत्ती, सिक्का र धूप राखेर दिपावली गर्ने चलन छ । थाइल्याण्डमा शिख, जैन, बौद्ध र हिन्दु परम्पराका आधारमा दिपावली गरिन्छ । मिठो खाने र राम्रो लगाउन चलन छ ।
बेलायत
बेलायतमा भारतीय र नेपालीहरुको बसोबास रहेकाले तिहार मनाउँदै भब्य दिपावली गर्ने चलन छ । लक्ष्मीको मन्दिरमा गएर पूजाआजा गर्ने चलन छ । बेलायती प्रधानमन्त्री पनि दिपावली उत्सव गर्ने र शुभकामना दिने गर्छन । दिपावलीका अवसरमा मानिसहरुले आफ्नो घरलाई दीप तथा मैनबत्तिले सजाउने गर्छन् । लक्ष्मीको प्रसादका रुपमा मिठाइ वितरण गर्ने गरिन्छ । बेलायतमा रहेका गोर्खा पल्टनमा पनि दिपावलीको खुबै रौनक छाउँछ ।
अमेरिका
बेलायतपछि हिन्दुहरुको बसोबास रहेको मुलुकमा अमेरिका पनि अग्रपंक्ती पर्छ । भारत, भुटान, बंगलादेश, नेपाल लगायतका देशबाट अमेरिका पुगेका हिन्दुहरुले तिहार तथा दिपावली भब्य रुपले बनाउने गर्छन् । सन २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो । अमेरिकी कंग्रेसमा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले दिपावलीलाई आधिकारिकता दिएका थिए । सन् २००९ मा तत्कालिन राष्ट्रपति बराक ओबामा पनि दिपावलीमा रमाएका थिए । २०११ मा पनि अमेरिकामा भब्य दिपावलीको आयोजना गरिएको थियो । हिन्दु परम्परा अनुसार यहाँका थुप्रै शहरहरुमा दिपावली गर्ने चलन छ ।

सिंगापुर र इन्डोनेसिया
सिंगापुर र इन्डोनेसियामा पनि हिन्दुहरुको बसोबास बाक्लो छ । स्थायी रुपमा बसोबास गरिरहेका हिन्दु तथा तमिलहरुले तिहारमा धुमधाम दिपावलीको आयोजना गर्छन् । सिंगापुरमा सार्बजनिक विदा नै दिने चलन छ । सिंगापुर प्रहरीमा रहेका हिन्दुहरुले विशेष कार्यक्रमहरुको आयोजना गर्छन् । दिपावलीलाई एक बार्षिक उत्सवकै रुपमा मानिन्छ । इन्डोनेसियामा पनि हिन्दुहरुको बसोबास रहेकाले धुमधाम दिपावली गरिन्छ । विशेष गरी तमिलहरुले यस दिन बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउने, उपहार आदनप्रदान गर्ने साथै मन्दिरमा गएर पुजा गर्ने गर्छन् ।
अष्ट्रेलिया
अस्ट्रेलियाका विभिन्न शहरहरुमा भारतीय र नेपाली मुलका मानिसहरुको धेरै बसोबास रहेकाले दिपावलीमा बेग्लै उत्साह हुन्छ । सन् २००६ मा मेलबर्नको फेडरेसन स्क्वायरमा भब्य रुपमा सामूहिक दिपावली आयोजना गरिएपछि अस्ट्रेलियाका अन्य शहरमा पनि मनाउन थालिएको छ । नेपालीहरुका संघ संस्थाहरुले बेग्लै दीपावलीको आयोजना गर्छन् । एकहप्तासम्म दिपावली खुबै रौनक चल्छ । प्रतिष्ठित ब्यापारिक भवनहरुमा भब्य रुपमा साजसज्जा गरेर झिलीमिली दिपावली गरिन्छ । विशेष गरी भारतीय मुलका हिन्दुहरुले सामूहिक दिपावलीको आयोजना गर्छन् ।
श्रीलंका
श्रीलंकामा तमिलहरुले विशेष रुपमा दिपावली मनाउने गर्छन् । तेलले स्नान गर्ने, मिठाइ वितरण गर्ने साथै मन्दिरमा गएर पुजा गर्ने चलन छ । रातभर घर आगन झिलीमिली बनाउने गरिन्छ । दिपावलीका अवससरमा विभिन्न खेल, आतिसवाजी, गायन, नृत्य संगीत, भोज आदिको आयोजना गरिन्छ । हिन्दूहरुले तेलको दियो जलाएर धनकी लक्ष्मी देवीको आराधना गर्छन । (एजेन्सीको सहयोगमा)