April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नब्बे बर्षीया वृद्धालाई घरमै नागरिकता

7.9K

भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर–७, सिक्रेटारकी ९० वर्षीया बृद्धा भीमकुमारी अधिकारीलाई घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बृद्धालाई सिक्रेटारस्थित उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

शारीरिकरूपले अशक्तसमेत रहेकी बृद्धालाई घरमै नागरिकताको प्रमाणपत्र दिलाउनका लागि वडा अध्यक्ष कुमार थापाले विशेष पहल गरेका थिए । वडाअध्यक्ष थापाकै पहलका कारण जिल्ला सदरमुकाम भोजपुरबाट प्रमुख जिल्ला अधिकारी कार्यालयको टोलीसहित सिक्रेटार पुगेका थिए ।

धनकुटाको महालक्ष्मी नगरपालिका माइती भएकी भीमकुमारीको सिक्रेटारका बालध्वज अधिकारीसँग विवाह भएको थियो । उनले पहिले पाएको नागरिकता र अभिलेखसमेत आगलागीमा जलेर नष्ट भएकाले उनी नागरिकताविहीन हुनुका साथै समस्या ज्यादै जटिल बनेको थियो । नागरिकता नभएकै कारण उनले सरकारले दिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकेकी थिइनन् । नागरिकता प्राप्त गरेपछि उनले खुसी व्यक्त गरेकी थिइन् । सो अवसरमा पूर्व वडा अध्यक्ष डिल्लीराम अधिकारी, वडानम्बर–६ का वडा अध्यक्ष गणेशकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

Advertisement