April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आफ्नै कार्यसमितिबाट कारवाहीमा परेका एनआरएन यूके अध्यक्ष गाहामगर पदमुक्त

4K

काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई पदमुक्त गरिएको छ। यसअघि संस्थाको विधि विधानविपरित काम गर्दै आएकाले संघको कार्यसमिति र सचिवालयमा विश्वास नरहेको भन्दै बहुसंख्यक पदाधिकारीहरुले आवश्यक कारवाहीका लागि संघको अन्तर्राष्ट्रिय समन्वय समितिमा कारवाहीका लागि सिफारिस गरेका थिए ।

संघका महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेलले संयुक्तरुपमा एक पत्र पठाउँदै संघको विधानविपरीत विवादास्पद र गैरजिम्मेवार तथा अवाञ्छित क्रियाकलापमा संलग्न भएको भन्दै मंगलबारदेखि लागू हुने गरी गैर-आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदबाट हटाइएको जनाएका छन्।

संघको यूके कार्यसमितिको बहुमतले समेत कारबाही गरेको अवस्थामा कारबाहीको पत्रलाई संघले अध्ययन गर्दा कारबाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएकोले संघको संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसार कारबाही गरिएको पत्र संघले अनुमोदन गरेको पत्रमा उल्लेख छ।

Advertisement

यस्तै गाहामगरलाई आफूसँग भएका गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण कागजात, सम्पत्ति, कार्यालय सामग्रीहरू मंगलबारकै मितिदेखि दुई हप्ताभित्र यूके कार्यसमितिलाई हस्तान्तरण गर्न समेत पत्रमा भनिएको छ।

साथै आइन्दा संघका नाममा कुनैपनि गतिविधि नगर्न नगराउन समेत अनुरोध गरिएको छ। यसैगरी गैरआवासीय नेपाली संघ युकेका सचिव बिष्णु खरेललाई लेखिएको एक पत्रमा महासचिवद्वयले ‘पत्र प्राप्त भएको ३० दिन भित्र नियमानुसार गैरआवासीय नेपाली संघ युकेको विशेष साधारण सभा आह्वान गरी आवश्यक काम कारवाही अघि बढाउन’ समेत भनिएको छ। उक्त विशेष साधारण सभाले एनआरएनए युकेको नयाँ अध्यक्ष निर्वाचित गर्ने अपेक्षा गरिएको छ।

तर गाहा मगरले पदमुक्त गर्ने अधिकार आइसीसीलाई अधिकार नभएको प्रतिक्रिया दिएका छन् । विभिन्न संचारमाध्यमहरुसँग प्रतिक्रिया दिंदै जनताको मत पाएर विजयी भएको अध्यक्षलाई ‘टिके आइसीसी’लाई पदमुक्त गर्ने अधिकार नभएको र अब बल्ल कानूनी लडाइँ शुरु हुने बताएका छन् ।

तर यस अगाडी कार्य समितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले अध्यक्षबाट संघको इज्जत प्रतिष्ठा तथा विश्वासनियतामा आँच आउने गरेर संघको विधान विपरित भएका ६ ओटा गम्भीर गल्तीहरु औंल्याउँदै ७२ घण्टा भित्र स्पष्टीकरण दिन पत्राचार गरिएको थियो । अध्यक्ष गाह मगरले स्पष्टीकरण दिएर सुध्रिनुको साटो झन झन गलत क्रियाकलपा गर्दै गएकाले तोकिएको ७२ घण्टाको अवधी सकिएपछि सचिवालयको आकस्मिक बैठक बसी कारवाहीका लागि आइसीसीलाई पत्रचार गरेको थियो । १३ पदाधिकारी मध्ये १० पदाधिकारीले अध्यक्षलाई कारवाहीका लागि सिफारिस गरेका थिए ।